पोखरा
नपालीका पर्व सुरु भएका छन् । आज नाग पञ्चमी । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भएपनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन पूजा गरी घरको मूल ढोकामाथि टाँस्ने गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसेको पनि धर्मशास्त्रका जानकारहरुले बताएका छन् ।
नाग पञ्चमीपछि नेपालीको अर्को पर्व जैन पूर्णिमा अबको १० दिनपछि आउँदैछ । यस वर्ष साउनमा मलमास परेका कारण भदौ १४ गते जनै पूर्णिमा परेको छ । आगामी असोज १ गते नेपाली महिलाको पर्व तिज परेको छ ।
प्रकाशित मिति २०८० भदौ ४ गते सोमबार ०७:३९




