नेतृत्वमा प्रचण्डको विकल्प नभएको भनाइ
पोखरा
२०६४ सालको पहिलो पार्टी २०७० यता भने निरन्तर तेस्रो पार्टीमा कायमै रहे पनि मतसंख्या भने खस्किरहनुप्रति माओवादीकै व्यवस्थापकीय कमजोरी रहेको सचिव देवेन्द्र पौडेलले समीक्षा गरेका छन् ।
गण्डकी प्रदेशको जिल्ला र पालिकाको जिम्मेवारी बाँडफाँडपछि कुराकानी गर्दै सचिव पौडेलले कार्यकर्ता व्यवस्थापन र जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लाग्न पुगेको बताएका हुन् । माओवादीले यसपटक झण्डै १२ लाख मतसहित तेस्रो स्थानमा रहेर सरकार सञ्चालनकै नेतृत्व गरिरहेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने निश्कर्ष निकालिएको सुनाए ।
अब जनतातिर नफर्किने हो भने जनता पनि आफूहरुतिर नफर्किने निश्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय समितिको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरिएको पौडेलको भनाइ छ ।
युवालाई प्रशिक्षण दिने काम कम हुँदा व्यवस्थाप्रति नै निराशा जागेर पलायन भइरहेको सन्दर्भमा देशमै, पार्टीमै कार्यकर्तालाई जोगाइरहन असफल भएको पौडेलले बताए । ठूला पार्टीका पुराना भनिएका नेतालाई पनि हराउँदै काठमाडौंमा बालेनले जित्नु पुराना सबै पार्टीको चुनौतिको विषय भएको पौडेलले बताए ।
गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले अहिले नै पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वबाहेक अर्को विकल्प सोच्न नसकिने बताएका छन् । पौडेलले नेत्र विक्रम चन्द विप्लवलाई महासचिव बनाउने विषय पनि बाहिरका हल्लामात्र भएको पौडेलको भनाइ बताए । संस्थागत हिसाबले कसैलाई महासचिव बनाउने प्रशंगै नचलेको र त्यो बाहिरको हल्लामात्रै भएको पौडेलले बताए ।
प्रकाशित मिति २०८० भदौ ४ गते सोमबार ०१:०१




