२०८३ असोज २४ गते शनिबार

पोखराका मुख्य सडकमा स्मार्ट लाइट बल्न सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १७ गते आइतबार ०७:५२

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

पोखरा

उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्रधिकरणको भनाइ छ । बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।

राष्ट्रिय सडकबत्ती प्रवद्र्धन परियोजना प्रमुख प्रमोद रिजालले जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको जानकारी दिए । जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएका छन् ।

 

बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ । रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ । बत्ती बलेको वा नबलेको पनि तत्कालै जानकारी पाइने उनले सुनाए ।

बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए । बत्तीमा जडित सिस्टमले सुर्योदय र सुर्यास्त समय आफैं पत्ता लगाउने हुनाले सोहीअनुसार स्वचलित रुपमा बत्ती बल्ने र निभ्ने उनको भनाइ थियो ।

ललितपुर, धनगढीपछि पोखरामा सुरु गरिएको स्मार्ट सडकबत्तीको निर्माण ठेक्कासँगै ५ वर्षका लागि मर्मत सम्झौता पनि भएको जानकारी रिजालले दिए । उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निशुल्क बनाइदिने सम्झौता छ ।

प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन् ।

प्रकाशित मिति २०८० भदौ १७ गते आइतबार ०७:५२
हजुरको प्रतिक्रिया