२०८३ साउन २१ गते बिहीबार

अन्तिम चरणमा ‘वाडा अटो शो’ को तयारी, २ दर्जन बढी कारको प्रदर्शनी

अन्तिम चरणमा ‘वाडा अटो शो’ को तयारी, २ दर्जन बढी कारको प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ९ गते सोमबार ०४:४८

उक्त शोमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे , ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे र १ वटा हेभी कमर्सियल लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायतका २० वटा स्टल रहनेछन् ।

सवारीमा लागू ३ सय प्रतिशत हटाउने सम्भावना कम

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शोको तयारी करिब सकिएको आज (सोमबार) आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको हो ।

उक्त अटो शो बाराहीघाट खेलमैदानमा यही ११ गतदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

उनका अनुसार उक्त शोमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे , ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे र १ वटा हेभी कमर्सियल लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायतका २० वटा स्टल रहनेछन् ।

उनले डिपल, अथर, बिवाइडी, चेरीवान्डा, न्यू गो नाव, सुजुकी, टाटा, टिभिएस, यामाहा, निशान, ओमोडा, किया, हुन्डाई लगायतका २ दर्जन भन्दा बढी ब्राण्डका चार तथा दुई पाङ्ग्रे साधनको प्रदर्शनी तथा विक्री वितरण हुने बताए ।

‘गत वर्षको शोमा करिब १ सय ५० वटा भन्दा बढी कारको बुकिङ भएको थियो, ‘यो वर्ष हाम्रो लक्ष्य त्यो भन्दा बढी छ । त्यसैले शोमा भिजिट गर्न करिब ४५ हजार बढी आउनुहुन्छ भन्ने विश्वास छ’, उनले भने ।

यस्तै संस्थाका महासचिव विनय थापाले उक्त शोमा आकर्षणका रुपमा भिन्टेज कार शो र युनिट्री जि वान ह्युमानोइड रोबट, युनिट्री गो टु र चंखेजस्ता रोबटहरुलाई पनि समावेश गरिएको जानकारी दिए ।

उनका अनुसार अटो शोमा प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ भने, विद्यार्थीका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।

सवारीमा लागू ३ सय प्रतिशत हटाउने सम्भावना कम

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) का उपाध्यक्ष निरन केसीले पछिल्लो समय सामाजिक सञ्चालमा आएको सवारी साधनमा सरकारले लगाएको ३ सय प्रतिशत कर हटाउने सम्भावना कम रहेको बताए ।

उनले मिडिया ट्रायलका रुपमा ३ सय प्रतिशतको विषयलाई प्रोपोगण्डा मच्चाएको उल्लेख गरे ।

‘३ सय प्रतिशतको कुरा मिडिया ट्रायल मात्रै हो । यो विविध कारणले सम्भावना कम छ । तर इभी गाडीमा त्यो लागु छैन, उनले भने ‘सरकारले नै सहुलियत दिएको छ । त्यसैले इभी गाडीको प्रयोग ह्वात्तै बढेको छ ।’

उनले इभी गाडीको विक्री तुलनात्मक रुपमा बढी भएकाले अटोमोवाइलको दक्ष जनशक्ति नभएको सुनाए ।

‘अहिले इभी गाडीको व्यापार र प्रयोग एकदमै धेरै बढेको छ, उनले भने, ‘यसको क्षेत्रमा दक्ष मेकानिक र इन्जिनियरको कमी छ । त्यसैले हामीले त्यस्तो योग्य र दक्ष जनशक्तिको खोजीमा छौं ।’

प्रकाशित मिति २०८२ चैत ९ गते सोमबार ०४:४८
हजुरको प्रतिक्रिया