पोखरा
भुटानको पारो विमानस्थलबाट उडेको रोयल भुटान एयरलाइन्सको ड्रक एयरको एयरबस ए ३१९ जहाज शनिबार विहान ६ बजेर ४० मिनेट जाँदा पोखरा विमानस्थलको धावनमार्ग टेक्यो ।
यो पोखरा विमानस्थलमा भएको दोस्रो अन्तर्राष्ट्रिय उडान थियो । चार्टड उडानका भर्नकै लागि पोखरा आएको जहाजमा चालकदलका ७ सदस्यसहित ३ जना मात्र यात्रु पोखरा ओर्लिएका थिए ।
१ घण्टा बढी पोखरामा बसेको ड्रक एयरको जहाज ४२ जना अमेरिकन पर्यटक लिएर भुटानतर्फको उडान भ¥यो । यो उडानले पोखरेलीलाई आशाको सञ्चार गरायो ।
गत पुस १७ गते धुमधामका साथ उद्घाटन भएको विमानस्थलबाट ८ महिनामा भएको दोस्रो अन्तर्राष्ट्रिय उडानबाट आउने र जाने यात्रुलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत पोखरेली पर्यटन व्यवसायीले विमानस्थमै पुगेर स्वागतसँगै बिदाइ गरे ।
ड्रक एयरको चार्टड उडानमा सवार गरेर भुटान जाने पर्यटक अधिकांश अमेरिकन हुन् । उनीहरुले हेलिमा सगरमाथ घुम्दै पोखरासम्म आइपुगेका थिए । ¥याफटिङ लगायतका सहासिक पर्यटकीय गतिविधिमा सारिक भए ।
यसअघि असार ६ गते सिचुआन एयरलाइन्सको एयरबस ए ३१९ जहाजले पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान भर्दै पोखरामा सम्भावनाको ढोका खोलेको थियो । असार ८ र ९ गते पोखरामा दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’मा सहभागी हुन आएका खेलाडी र चिनियाँ पाहुना लिएर आएको जहाज फर्कदा रित्तै गयो ।
पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको पोखरा विमानस्थलबाट यी २ चार्टड उडान बाहेक घरेलु उडानमै सीमित छ । उद्घाटनको ८ महिनासम्म पनि नियमित अन्तर्राष्ट्रिय उडानको अझै टुंगो छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले शनिबार ड्रकले गरेको चार्टड उडान पहिलो व्यवसायिक उडान भएको बताउँछन् । ‘यो पोखराको पहिलो कर्मसियल फ्लाइट हो । यसलाई हामी खासमा रेभिन्यु फ्लाइट भन्छौं’, उनी भन्छन्, ‘यो रेभिन्युको रुपमा चार्टड उडान आएको हो ।’
उनले उडानका लागि निकै मेहनत गरेको सुनाए । ‘यो खासमा पोखराको फ्लाइट होइन । र हामीले कमिटमेन्ट के ग¥यौं भन्दाखेरी यहाँहरुलाई उत्कृष्ट सुविधा दिन्छौं । ह्यासेल फ्रि सुविधा दिन्छौं । यसबाट कन्मिन्स भएर आको हो’ कर्णले भने ।
उनले पोखरा विमानस्थलमा यात्रुलाई दिने विश्वस्तरको सुविधा छ भनेर आश्वस्त पारेको बताए । यो उडानबाट विमानस्थलले प्रति यात्रुबाट ३ हजार रुपैयाँको दरले आम्दानीसमेत गरेको छ ।
उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न विदेशी एयरलाइन्सका प्रमुखसँग भेट गरेर आग्रह गर्नुपर्ने बताए । ‘एयरपोर्ट फ्रि गर्दैमा चल्ने होइन । ८ महिनाको एक्सपिरियन्स र भैरहवाको १ वर्ष कटिसक्यो त्यो त हामीले हेरिसक्यौं । फ्रि गरेर हुँदैन’, विमानस्थल प्रमुख कर्णको भनाइ छ, ‘एयरलाइन्स पैसा कमाएर हामीलाई पनि पैसा दिन चाहान्छ । हामीले यो ठाउँबाट बिजनेस दिनुपर्छ । बिजनेस दिनका लागि नेपाल सरकारले फिप्थ, सिक्थ र सेभेन्थ फ्रिडम दिनुपर्छ । यो ३ प्रकारको ट्राफिक राइट यदि नेपाल सरकारले घोषणा गर्छ भने यो एयरपोर्ट सञ्चालनयोग्य छ र भविष्यमा हुनसक्छ ।’
गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले विमानस्थल प्रदेशको क्षेत्राधिकारमा नपरेपनि पहल गरिरहेको बताए । निर्माणको ऋणको भार बद्दै गएकाले अन्तर्राष्ट्रिय उडान नियमित गर्नुको विकल्प नरहेको उनको बुझाइ छ ।
‘यसमा प्रदेश सरकारको चासो छ । यो एयरपोर्ट सञ्चालन होस् भन्नेछ । नेपालीको टाउको लागेको ऋणको पोको २२ बाट २८/२९ अर्ब पुगिसकेको छ । यसलाई कसरी सञ्चालन गरेर नेपालीको ऋणको बोझ कसरी घटाउन सकिन्छ सोच्नुपर्छ’, उनले भने । कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भनेर संघीय सरकारसँग पटक पटक आग्रह गरेको बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले सेप्टेम्बरबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनसक्छ भनेर उच्चस्तरबाट जानकारी प्राप्त भएको बताए । दक्षिणबाट चाँडै उडान सुरु होस् भनेर लागेको उनको भनाइ छ ।
‘पोखरालाई खासगरीकन दक्षिणतिरको मित्र राष्ट्रको नजिकको सहरमा जहिलेसम्म फ्लाइटहरु रेगुलर गर्न सक्दैनौं त्यतिबेलासम्म यहाँ फ्लो पूरा हुन सक्दैन’, मेयर आचार्य भन्छन्, ‘कुटनीतिक विषय भएकाले कतिपय राजनीतिक हिसाबले उच्चस्तरमा मिलाउनपर्ने पनि छन् । त्यसकारण यो छिट्टै समाधान हुन्छ ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले ड्रक एयरको उडानले अरु एयरलाइन्सले पनि उडान भर्नेमा आशा दिलाएको बताए । ‘हाम्रो एउटै माग के छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा पनि नेपाल एयरलाइन्सको जहाजले २÷४ देशमा उडान सुरुआत गरोस् भन्ने हो ।’
पोखरेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा अन्तर्राष्ट्रिय उडानका लागि पहल थाल्न एजेण्डा बनाउन सुझाएका छन् । प्रधानमन्त्री दाहालले पनि पोखरामा भएको समाजवादी मोर्चाको सन्देश सभामा अन्तर्राष्ट्रिय उडान सुरु गर्न चीन भ्रमणमा एजेन्डा लिएर जाने बताए ।
भारतको भ्रमणको क्रममा पनि प्रधानमन्त्री दाहालले यो एजेन्डा लैजाने अपेक्षा गरेका पोखरेली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा पहल नभएपछि निराश छन् ।
चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा पोखरा अन्र्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।
सन् २०१४ मे ३१ मा नागरिक उडुठयन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो । २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि गएको पुस १७ गते उद्घाटन भएर सुचारु भएको हो ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो । झन्डै पाँच दशकमा पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चहाना पूरा भएपनि उडान हुन सकिरहेको छैन ।
प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार १२:२३




