पोखरा
नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत कास्कीका चिकित्सकहरुले आज जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै उनीहरुले चिकित्सकको सुरक्षा व्यवस्थाको ग्यारेन्टी गर्नसमेत माग राखेका छन् ।
आन्दोलनरत चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पार्दा अत्यावश्यक सेवाका बिरामीसमेत मर्कामा परेका छन् । ओपीडी बन्द हुँदा नियमित फलोअप र नयाँ बिरामीहरु अस्पाल पुगेर सेवाबिनै फर्किनु परेको थियो ।
बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने घोषणा गरेका हुन् ।
पोखरामा पनि चिकित्सकले जिल्ला प्रशासन अगाडि धर्ना दिएका थिए । धर्नामा आएका चिकित्सकले संघको आह्वानलाई स्वीकार्दै बिरामी नजाँचेको बताए । उनीहरुले चिकित्सकमाथि कुटपीट गर्नेमाथि कडा कारवाही गर्नसमेत माग गरेका छन् ।
प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०७:२८




