२०८३ साउन २१ गते बिहीबार

कृषिमन्त्री भुसाल भन्छन्ः उद्योगको विकास कल्पना मात्रै हो, कृषिमा सम्भावना छ

कृषिमन्त्री भुसाल भन्छन्ः उद्योगको विकास कल्पना मात्रै हो, कृषिमा सम्भावना छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०५:१७

उनले थपे, ‘कृषिमा समस्या छन तर सम्भावना पनि राम्रै छ । कृषिलाई चाहिने जल हामीसँग छ । जमिन पनि छ ।’

पोखरा

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले ऐन, कानुन र नियमावली बन्न ढिला हुँदा कृषि क्षेत्रको विकास हुन नसकेको बताएका छन् । उनले प्रकृयागत ढिलासुस्तीको अन्त्य गरे मात्रै कृषि क्षेत्रको सुधार हुने बताए ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको पोखरामा सुरु आठौं साधरणसभामा मन्त्री भुसालले कृषि उत्पादन बढाउन यन्त्रिकीकरणमा जोड दिनुपर्ने बताए ।

‘परम्परागत ढंगले कुटो कोदालोले खनेर साधारण हलोले जोतेर गरेको खेतीले पारा लाग्दैन’, उनले भने, ‘त्यसले लागत अनुसार उपलब्धि हुदैन । मुल्य उठ्दैन । किसान कृषि पेशामा आकर्षित हुदैनन् ।’

कृषि क्षेत्रमै काम गर्न युवा विदेश पलायन भएपनि नेपालमै आकर्षित गर्न नसकिएको उनको भनाइ थियो ।

उनले यो वर्ष रासायनिक मलको अभाव हुन नदिएको जिकिर गरे । पछिल्लो १० वर्षमा पहिलो पटक रासायनिक मलको हाहाकार नभएको उनको दाबी छ ।

नेपालमै रासायनिक मलको कारखाना खोल्ने विषयमा दुविधा थपिएको मन्त्री भुषाल बताउँछन् ।

‘आज दुनियाँ रासायनिक मल विस्थापनको दिशामा अगाडि बढ्दैछ । दुनियाँ प्रांगरिक मलको प्रयोग गर्नुपर्छ भन्दैछ’, उनी भन्छन्, ‘विश्व एकातिर जादैछ । हामी अर्कोतर्फ जान सक्छौं कि सक्दैनौं भन्ने प्रश्न हाम्रो सामु खडा भएको छ ।’
नेपालमा कृषिको क्षेत्रमा अधिक सम्भावना भएको मन्त्री भुषालको भनाइ थियो । उद्योगको माध्यमबाट विकासको कल्पना गर्नु कल्पना मात्रै हुने उनले बताए ।

‘उद्योगबाट विकास गर्छु भन्ने कल्पना मात्रै हो । सम्भव छैन यो । आजको दुनियाँमा हाम्रा उद्योगले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना छदैछैन’, उनले थपे, ‘कृषिमा समस्या छन तर सम्भावना पनि राम्रै छ । कृषिलाई चाहिने जल हामीसँग छ । जमिन पनि छ ।’

उनले कृषिका लागि सिंचाइको भने अभाव रहेको बताए । सिंचाइको समस्या समाधानमा मन्त्रालयको ध्यान पुगेको मन्त्री भुषालले उल्लेख गरे ।

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०५:१७

हजुरको प्रतिक्रिया