पाेखरा
गत ८ गतेयता मणिपाल शिक्षण अस्पतालमा उत्पन्न तनाव ६ बुँदे सम्झौता गर्दै गत बिहीबार टुंगिएको बताइएको थियो ।
मणिपाल प्रकरणमै शुक्रबार साँझ प्रहरीले फेरि ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।
साम्य भएको भनिएको मणिपाल घटनामा फेरि किन युवाहरु पक्राउ परे त ? अहिले यो प्रश्न उठिरहेको छ । चिकित्सक र आफन्तबीच ६ बुँदे सहमति भइसकेको भए पनि अस्पताल तोडफोड गर्ने, अपशब्द बोल्ने र गुण्डागर्दी शैली देखाउनेलाई प्रहरीले पक्राउ परेकोे बताइरहेको छ ।
त्यतिमात्र होइन, आक्रमण तथा तोडफोड उत्रिएकाहरुलाई पक्राउ नगरेसम्मम केन्द्रमै चिकित्सक र सरकारबीच वार्ता मिल्ने अवस्था नदेखिएपछि गृह मन्त्रालयले नैे यस घटना अनुसन्धान गरी जो जो दोषी देखिन्छन्, पक्राउ गर्न निर्देशन नै जारी गरेको हो ।
आफन्तको आन्दोलनमा घुसपैठ भएको प्रहरीको अनुसन्धानले देखाएको स्रोतले बताएको छ ।
आफन्त तथा अन्य केही पोखरेली वृतले भने भारतीय समूहबाट मणिपाल खरिद गरेका आनन्दराज बतासले यो प्रकरणमा दबाब दिइरहेका छन् ।
उनले राजनीतिक नेतृत्वमार्फत नै स्वास्थ्य संस्थामा मौलाएको गुण्डागर्दी अन्त्य नभइ नहुने भन्दै गुण्डागर्दी शैली अपनाउनेलाई प्रहरीले प्रक्राउ गरेर कारबाही बढाउन दबाब दिएको निकटस्थहरु बताउँछन् ।
गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीय सुकमाया दूराको मृत्युपछि मणिपालमा तनाव बिहीबार ६ बुँदे सम्झौता गर्दैै साम्य भएको बताइएको थियो ।
सुकमायाको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै आफन्तले अस्पतालमा ताृडफोड तथा डाक्टरमाथि नै हातपात गरेपछि परिस्थिति तनावग्रस्त बन्न पुगेको हो ।
डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरु पनि आक्रोसित बनेका थिए ।
मणिपालको तनाव प्रशासन हुँदै सडकसम्म आइपुगेकेोे थियो । मणिपालको घटनाले देशैभरि तरंग सिर्जना गरेको थियो ।
आक्रमणमा संलग्न भएको अरोपमा मालेपाटनका विनय गुरुङ पक्राउ परेका थिए भने डाक्टरमाथि पनि प्रहरीले लाठी चार्ज गर्दै डा. दिनेश कोइरालालाई एक रात हिरासतमा राखेर छोडेकोे थियो ।
यही प्रकरणमा आक्रोसित भीड उक्साउने गरी अपशब्द बोल्दैे ‘डाक्टर चुटेर आएँ’ भन्ने मदन श्रेष्ठ निलम्वनमा परेका छन् भने कार्यक्षेत्र नपरे पनि कमाण्ड सम्हालेका बैदाम प्रहरी प्रमुख वेदप्रकाश जोशी हेकक्वाटर तानिएका छन् ।
पक्राउ परेका विनय गुरुङको मुद्धा अगाडि बढिरहेको छ भने शुक्रबार साँझ पक्राउ पर्नेहरुलाई पनि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनबिपरीत असुर गरेको आरोपमा मुद्धा अगाडि बढाउने तयारी प्रहरीले गरेकोे छ ।
प्रकाशित मिति २०८० असोज १३ गते शनिबार ०८:२५




