२०८३ असोज २४ गते शनिबार

सूर्यदर्शन सहकारी: अनुसन्धानकाे फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

सूर्यदर्शन सहकारी: अनुसन्धानकाे फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १६ गते मंगलबार ०५:५५

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढालाई प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अहिले फरारको सूचीमा छन् ।

पाेखरा

गीतेन्द्र (जीबी) राईको समूहले खालेको पोखराको सूर्य दर्शन सहकारीको ठगीसम्बन्धी फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सकेर १ अर्ब ११ करोड १ लाख रुपैयाँ बिगो दाबीसहित मंगलबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको हो ।

सूर्य दर्शन सहकारीमा सर्वसाधरणको बचत रकम हिनामिना पारेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

बचतकर्ताको उजुरीको आधारमा प्रहरीले गत भदौ २४ गते जीबीसहित ७ जनालाई पक्राउ पुर्जी भएको २ दिनपछि सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । रम्तेल पक्राउ परेको २५ औं दिनमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको कास्की प्रहरी प्रवक्ता डिएसवी श्रवणकुमार विकले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा अगाडि बढाउने छ । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । त्यसमा १८ जना अझै फरार छन् । सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढालाई प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अहिले फरारको सूचीमा छन् ।

यसैगरी पक्राउ पुर्जी जारी भएका वर्तमान तथा पूर्व सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले फरार भएको जनाएको छ । यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोककै हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडाका हुन् भने बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ ।

सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको र कतिपय रकमको अभिलेख नै नभेटिएको प्रतिवेदनमा छ । सुरुमा सहकारीको व्यवस्थापक भएका थानबहादुर पछिल्लो कार्यकालमा अध्यक्ष बनेका थिए । सहकारीको संकट बाहिर नजओस् भन्नका लागि पनि थानबहादुरले नै अध्यक्ष र व्यवस्थापकको काम गर्दै आएका थिए ।

प्रकाशित मिति २०८० असोज १६ गते मंगलबार ०५:५५
हजुरको प्रतिक्रिया