पाेखरा
लागुऔषध (गाँजा) मुद्दामा पक्राउ परेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले ३ वर्ष ६ महिना सजाय तोकेको छ ।
गाउँपालिको वडाध्यक्ष हुँदा गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए । आइतवार उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाय तोकेको उच्च अदालत बागलुङका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए । ‘जिल्लाले गरेको फैसला नै उच्चले सदर गरेको हो,’ उनले भने ।
घर्तीलाई ९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय फरार थिए । ०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ ९क० अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परे लगत्तै झण्डै ३ महिना पुर्पक्षका लागि थुनामा बसेपछि धरौटीमा रिहा भएका थिए ।
घर्ती स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।
प्रकाशित मिति २०८० असोज २२ गते सोमबार ०१:३१




