प्याराग्लाइडिङलाई सुरक्षित राख्दै दीर्घकालीन बनाउनुपर्नेमा जोड
पोखरा
उडान र अवतरण गर्ने स्थान सरेसँगै सुस्ताएको पोखराको प्याराग्लाइडिङले विस्तारै लय समातेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत माघदेखि सञ्चालनमा आएपछि साहसिक पर्यटनको रुपमा रहेको प्याराग्लाइडिङको स्थान सरेको हो । सराङकोटबाट उडान भरेर फेवा किनार खपौदीमा अवतरण हुने प्याराग्लाडिङ अहिले कास्कीकोटको मान्द्रेढुंगाबाट उडान भरेर पामेस्थित हर्पनखोलाको किनारमा अवतरण हुन्छ । माछापुच्छ्रे हिमाल हेर्दै फेवातालमाथि फन्को मार्दै पोखराको आकाश चुम्नका लागि आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्ने प्याराग्लाइडिङलाई दीर्घकालिन बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्याराग्लाइडिङ सुरक्षित बनाउन सके मात्रै पोखराको पर्यटन सुरक्षित हुने उनीहरुको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालन आएपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता आम पोखरेलीमा छाएको स्मरण गरे । नेपाल हवाइ उड्डयन प्राधिकरणको सहजीकरणले विस्थापित नभइ स्थापित भएको उनको भनाइ छ ।
नेपाल हवाइ खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीले मान्द्रेढुंगा तुलनात्मक रुपमा असुरक्षित रहेको बताए । क्षेत्र विस्तार गर्न प्रयत्न गरेको उनले सुनाए । नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङ असुरक्षित भए पोखराको पर्यटन पनि असुरक्षित हुने बताए ।
पोखरामा सन् १९९० को दशकमा प्याराग्लाइडिङ उडान भएको थियो । त्यतिबेला इंग्लयान्डका एडम हिलले पहिलोपटक पोखरामा प्याराग्लाइडिङ उडान भरेको जानकारहरु बताउँछन् ।
सन् २००३ पछि बल्ल व्यवसायिक उडान सुरु भएको हो । हाल पोखरामा ६२ प्याराग्लाइडिङ कम्पनी छन् । झन्डै ४ सय पाइलट प्याराग्लाइडिङ उडान भरिरहेका छन् । यतिबेला दैनिक १ सय ५० सम्म उडान भइरहेको छ । कोरोना पहिले दैनिक १ हजार २ सयसम्म उडान हुन्थ्यो ।
प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०९:५८




