पाेखरा
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो ।
यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।
यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटक आगमन बढ्न थालेसँगै व्यस्त हुन थालेको बताए । पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ । त्यस्तै अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ । यतिबेला पर्यटक आगमन बढ्दा दैनिक ३०-३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् ।
विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् ।
प्रकाशित मिति २०८० असोज २७ गते शनिबार ०७:१४




