२०८३ असोज २३ गते शुक्रबार

पोखरामा सुरु भयो भेडा च्यांग्राको व्यापार, ५५ हजारसम्म पर्छ मुल्य

विनोद ढुंगाना

@Public 4K Tv

२०८० असोज २९ गते सोमबार ०६:३५

भेडाको ३५ हजार रुपैयाँ र च्यांग्राको ५५ हजार रुपैयाँसम्म मुल्य तोकिएको छ । मुल्य व्यापारी अनुसार फरक फरक तोकिएको हो ।

पोखरा

भेडा च्यांग्राको बथानबाट रोज्जा ५० हजार रुपैयाँ तिरेर पोखरा महानगरपालिका–३३ बागमाराका बासु अधिकारीले मंगलबार नै खरिद गरे । पोखराको सिमपानीस्थित जौबारीमा बझाङका व्यापारीले ल्याएको च्यांग्रा खरिद गरेपछि उनले साह्रै मंहगो परेको सुनाए ।

‘मंहगो प¥यो, बर्षमा एकपटक च्यांग्रा खाना रहर हुने । मंहगो भएपनि २/३ जना साथी मिलेर किनियो’, उनले भने ।

पहिला हिमाली जिल्लाबाट पोखरा ल्याइएका भेडा च्यांग्रा स्थानीय खसीबोकाको तुलनामा सस्तो हुने भएकाले बर्षेनी किन्ने बानी परेको उनी बताउँछन् । पछिल्ला वर्षमा भाउ छोइसाध्य नहुने गरेर उकासिएको उनको अनुभव छ ।

उनी भन्छन्, ‘पहिला सस्तो हुन्थ्यो र खाइन्थ्यो । अहिले सस्तो नभएपनि जडीबुटी खाएको चिज बर्षमा एक पटक खान रहर हुने !’

पोखराको सिमपानी जौबारी क्षेत्रमा घटस्थापना अगावै भेडा च्यांग्रा भित्रिएको हो । अहिले त मुस्ताङसँगै बझाङ, बाजुरा, दार्चुला, डोल्पा, जुम्ला लगायत हिमाली जिल्लाबाट व्यापारीले ल्याएका भेडा च्यांग्राको बथानको मेला नै लागेको छ ।

भेडा च्यांग्रा किन्न आउने ग्राहकको संख्या बढ्दो छ । कतिले किनेर फर्किएका छन् कति हेरर मात्रै फर्कन्छन् । तर, अधिकांशको उपभोक्ताको एउटै गुनासो छ, ‘साह्रै मंगियो, किनेर खानै नसक्ने गरेर ।’

भेडाको ३५ हजार रुपैयाँ र च्यांग्राको ५५ हजार रुपैयाँसम्म मुल्य तोकिएको छ । मुल्य व्यापारी अनुसार फरक फरक तोकिएको हो ।

किसानको गोठमै महंगो परेकाले पोखरा ल्याइपु¥याउदा झनै मंहगिएको बझाङका व्यापारी मानबहादुर बोहोराले बताए ।

‘यतै ठुला खसीको ६० हजारसम्म पर्छ भन्छन् । त्यै हल्ला उतातिर पनि जाने भो’, उनले भने, ‘हल्ला अनुसार हामीले उताबाटै मंहगो तिर्नपर्छ ।’

बोहोरका अनुसार बझाङबाट ३ दिन लगाएर भेडा च्यांग्रा पोखरा आइपुगेका हुन् । पहिला हिडाएरै ल्याउँदा हप्तौं दिनसम्म समय लाग्थ्यो ।

अहिले ट्रकमा ढुवानी हुने भएपछि सहज भएको उनको भनाइ छ । तर, ढुवानीकै १ लाख रुपैयाँ तिर्नुपर्दा भेडा च्यांग्राको मुल्य महंगो पर्न जाने उनले बताए । २ वर्ष अगाडिसम्म ६० हजार रुपैयाँमै ढुवानी हुन्थ्यो ।

पोखरामा गतवर्ष १२ हजार भेडा च्यांग्राको किनबेच भएको तथ्याङ्क छ । यो वर्ष पनि हाराहारीमै किनबेच हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेको अनुमान छ ।

पश्चिमका हिमाली जिल्ला (बझाङ, बाजुरा, दार्चुला, डोल्पा) बाट झन्डै ३ हजार भेडा च्यांग्रा पोखरा आइसकेको उनले जानकारी दिए ।

यो वर्ष मुस्ताङबाट मात्रै ५ हजार ८ सय भेडा च्यांग्रा पोखरा झारिदैछ । ‘केही हूल आइसकेको छ । केही बाटोमा आउँदैछन्’, पाण्डेले भने, ‘थप भेडा च्यांग्रा मुस्ताङबाट आउने सम्भावना छ ।’

मुस्ताङबाट ल्याएका च्यांग्रा केही व्यापारीले त बिक्री गरेर सकाउन आँटेका छन् । ३ दिन अगाडि पोखरा आइपुगेका चन्द्रमान रोकाय मगरको समूहले १५० च्यांग्रा ल्याएका थिए ।

‘८० वटा काठमाडौंबाट अर्डर आएर उतै पठाको । ७० वटा यहीं राख्यौं । अब ९ वटा बिक्री गर्न बाँकी छ’, उनले भने, ‘किनकी सबैले मुस्ताङकै खोज्छ, छिटो बिक्छ । यार्सा गुम्बा हरेक जडिबुटी खान्छ त्यै भएर यहाँ स्पेशस्ली चिज मान्छ यहाँ ।’

घटस्थापनासँगै पोखराको हेमजा, याम्दी, टुँडिखेलमा भेडा च्यांग्रा किनबेच गर्ने मेला नै लाग्दछ । दसैं पछाडिसम्म पनि भेडा च्यांग्राको व्यापार जारी रहन्छ । विगत केही वर्षदेखि भेडा च्यांग्राको व्यापार कम हुँदा व्यापारी दसैंपछि पनि पोखरामै हुन्छन् । यहाँ कास्कीसँगै स्याङजा, तनहुँका उपभोक्ता पनि खरिद गर्न आउछन् ।

 

  

 

 

प्रकाशित मिति २०८० असोज २९ गते सोमबार ०६:३५

हजुरको प्रतिक्रिया