२०८३ कात्तिक ११ गते मंगलबार

भारतीय पर्यटकले व्यवसायी हौसिए तर नोट नचल्दा सकस

भारतीय पर्यटकले व्यवसायी हौसिए तर नोट नचल्दा सकस

दुर्गा राना मगर

@Public 4K Tv

२०८० असोज ३० गते मंगलबार ०२:३१

कोभिड महामारी कारण केही धरमराएको पोखराको पर्यटनलाई भारतीय पर्यटकले केही आशा दिएका छन् । गत असोज १३ गते एकसाथ ७ सय बढी भारतीय पर्यटक पोखरा आए ।

पोखरा

यस वर्ष नेपालमा भारतीय पर्यटकको संख्या बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । सन् २०२३ को पहिलो ६ महिनामा भारतबाट मात्रै एक लाख ६७ हजार पर्यटक हवाईमार्गबाट आएका छन् ।

नेपाल आएका भारतीय पर्यटकका लागि पोखरा मुख्य गन्तव्य बनेको छ । पोखरा घुम्न, र मुस्ताङको मुक्तिनाथ यात्राका लागि भारतीय पर्यटक पुग्छन् । भारतीय नागरिकका लागि सस्तो र नजिकको घुम्नका लागि मुख्य गन्तव्य पोखरा बनेको छ । आर्थिक वर्ष २०७८-७९ मा गण्डकी प्रदेशमा ८४ हजार ७४० भारतीय पर्यटक आउँदा अन्य १९ हजार ६८९ थियो । कोभिड महामारी कारण केही धरमराएको पोखराको पर्यटनलाई भारतीय पर्यटकले केही आशा दिएका छन् । गत असोज १३ गते एकसाथ ७ सय बढी भारतीय पर्यटक पोखरा आए । भारतको गुजरातबाट निलकण्ठवर्णी स्मृति यात्राका लागि उनीहरु एकसाथ पोखरा आएका हुन् । पोखरामा उनीहरुले तालवराही दर्शन, सराङकोट लगायतका ठाउँ घुमे र मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पनि पुगे ।

भारतको विहारबाट परिवारसहित पोखरा घुम्न आएका चन्द्रदेव प्रसादले नेपालमा एटीएम कार्ड चल्ने विश्वास गरेका थिए तर कार्ड नचल्दा भने उनले आफ्नो खर्चलाई कम गर्ने प्रयास गरेको सुनाए । भारतीय पर्यटक चन्द्रदेवले जस्तै पोखरा आउने भारतीय पर्यटकले ल्याएका भारतीय नोट र विद्युतीय भुक्तानी पनि नेपाल नचल्दा भने व्यवसायीलाई चिन्तित बनाएको छ । नेपालमा भारतीय पर्यटकले डिजिटल भुक्तानी गर्न पाउँदैनन् । यस्तै नेपालमा भारु १ सय बाहेकका भारतीय नोट पनि चल्दैनन् ।

नोट नचल्दा भारतीय पर्यटकले नेपाल घुम्न आफ्नो साथमा ल्याएका भारु १ सय माथिका नोटहरु खर्च गर्न नपाउँदा समस्या हुन थालेको छ । सन् २०१६ मा भारतले भारु पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णयसँगै नेपालमा पनि त्यसको प्रभाव परेको थियो । नेपाल राष्ट्र बैंकले सन् २०१६ पछि भारु एक सय भन्दा माथिको नोट चलाएको छैन । नेपाल राष्ट्र बैंकले भारु १०० को नोटमात्र नेपालमा चल्ने सूचना स्पष्ट रुपमा जारी गरेको नेपाल राष्ट्र बैंक पोखराकी सूचना अधिकारी सम्झना ढकालले बताइन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकको संख्या बढ्दै गर्दा भुक्तानीका लागि भारतीय नोटसम्बन्धी नीतिमा नेपाल र भारत सरकारले छलफल गर्नुुपर्ने बताए । होटल एशोसिएसन अफ नेपाल (हान) गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालमा भारतीय नोट चल्ने ठानेर भारतीय पर्यटकले भारतीय नोट नै लिएर आउने गरेको सुनाए । उनका अनुसार भारतीय पर्यटकले एटिएम कार्ड चल्ने विश्वासका साथ कार्ड ल्याउने गरेता पनि नेपालमा नचल्दा पनि समस्या हुने गरेको छ । अध्यक्ष सुवेदीले नेपाल राष्ट्र बैंकले भारु १ सय माथिका नोट सटही नगर्दा होटल व्यवसायीहरुसँग मर्कामा परेको बताए । उनले पोखरामा यस वर्ष भारतीय पर्यटक बढेपनि नोट नचल्दा भने व्यवसायीहरु चिन्तित बनेको बताए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटाले नेपाल भित्रने पर्यटकको सूचिमा भारत एक नम्बरमा रहेको बताउँदै भारतीय पर्यटकका लागि भारत सरकारले डिजिटल भुक्तानीबारे सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल आउने भारतीय पर्यटकको संख्या अहिले पहिलो नम्बरमा छ, यो पोखराको पर्यटनका लागि खुसीको कुरा हो तर पर्यटकसँगै भुक्तानीका लागि कम्तीमा भारत सरकारले डिजिटल पेमेन्टबारे सोच्ने हो भने हामी व्यवसायी र पर्यटकलाई पनि सहज हुने थियो ।’

यता भारतीय पर्यटक नेपाल आउँदा खर्च गर्न र रकम भुक्तानीका लागि समस्या हुन नदिन भारत सरकारले काम गरिरहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । गत असोज १० मा विश्व पर्यटन दिवसका दिनमा पोखराको कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका राजदूत श्रीवास्तवले रकम भुक्तानीको समस्यालाई निवारण गर्न डिजिटल भुक्तानीका लागि काम भइरहेको सुनाए ।

उनले गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पर्यटकका लागि नेपालमा सहज रुपमा डिजिटल भुक्तानीका लागि सहमति भएको बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा यसको निवारणका लागि सहमति भएको छ । यहाँको इसेवा, फोनपेबाट सहज रुपमा भारतीय पर्यटकले डिजिटल भुक्तानी गर्नका लागि काम अघि बढिसकेको छ ।’ यस्तै भारतको एक्सिस र नेपालको लक्ष्मी बैंकसँग सहमति गरि नेपालमा सहज रुपमा डिजिटल भुक्तानीका लागि छलफल भइरहको बताउँदै राजदूत श्रीवास्तवले आउँदो पुससम्म नेपालमा राष्ट्र बैंक लगायतका अन्य बैंकसँग पनि यसबारे डिजिटल भुक्तानीबारे छलफल अघि बढेको सुनाए ।

प्रकाशित मिति २०८० असोज ३० गते मंगलबार ०२:३१
हजुरको प्रतिक्रिया