पोखरा
गाउँ सहर जताततै दसैंको माहोल छ । परदेशी घर फर्किएका छन्, बजार झरेकाहरु गाउँ उक्लिएका छन् । सहर सुनसान बन्दा गाउँ गुल्जार छ ।
दसैंमा परिवार जम्मा भएर रमाइलो गर्ने, ठूलाबडाको हातबाट टीका र आशिर्वाद ग्रहण गर्ने परम्परागत मान्यता छ । यो बेला लामो समय कार्यालय, विद्यालय र कलेज पनि छुट्टि हुने भएकाले परिवारसहित घुम्न निस्कने चलन पनि बढ्दो छ ।
घुम्न निस्कने धेरैको रोजाइमा पर्छ पोखरा । पोखरा आएर आसपासका गन्तव्य कहाँ कहाँ घुम्ने त ? दोधार हुनु पर्दैन ।
नेपालका जुनसुकै भागबाट होस् वा विश्वका जुनसुकै कुनाका मान्छेलाई सोध्ने हो भने घुम्नुपर्ने ठाउँको पहिलो दोस्रो नम्बरमै पोखरा आउँछ । तर, पोखरा एउटामात्रै ठाउँ नभएर संस्कृति बनिसकेको छ ।
र, पोखरा भन्नेबित्तिकै योसँगै जोडिएर विविधता आउँछन् ।
आँखैमा हिमाल राखेर विशाल फाँटमा फैलिएका तालतलैयामा सयर गर्दाको आनन्द लिने अवसर अन्यत्र सायदै मिल्ला ! यो अवसर पोखरामा सजिलै पाउन सकिन्छ ।

विहानीको सुर्योदयसँगै छ्यांगै खुलेको अन्नपूर्ण हिमशृंखलाको सुन्दरता रसास्वदान गर्दै पोखरा भ्रमणको सुरुआत गर्नुहोला । सराङकोट र काहुँडाँडा सुर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य हुन् ।
विन्ध्यवासिनीको दर्शनसँगै सेती गर्ज पुगेर चमेरे गुफा र महेन्द्र गुफा घुम्न सकिन्छ ।
त्यसपछि हिमाल र हिमाली जनजीवनबारे बुझ्न अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पुग्न छुटाउनु हुँदैन ।
हिमाल चढेको अनुभूति गर्दै पर्वतीय संग्रहालयबाट नजिकैको पातले छाँगो र गुप्तेश्वर गुफा उपयुक्त गन्तव्य हुनेछ ।
पोखरा यात्रामा केहीबेर उकालो चढ्नुहोला । विश्व शान्ति स्तूप पुगेर शान्त हुनुहोस् । त्यसपछि फेरि उकालो लागेर भाइरल गन्तव्य पुम्दिकोटको विशाल महादेवको मन्दिर पुगिन्छ ।

जहाँबाट हिमाल, फेवाताल र पोखरा एकैपटक नियाल्न सकिन्छ ।
पोखरा झरेर साँझपख डुंगा चढेर तालवाराही मन्दिर त पुग्नैप¥यो ! फर्किएर तालबराहीघाटमा आरतीमा रमाउन सकिन्छ ।
आसपासका बस्तीमा बलेका बिजुली बत्ती फेवातालमा प्रतिविम्बित हुँदाको दृश्य बडो रोमाञ्चक हुन्छ । लेकसाइडको रंगिन रातको मज्जा लिन भुल्ने कुरै भएन ।

यति घुमेर फर्कने कुरा त भएन ! पोखरा त तालैतालको सहर हो । अझ भनौं ७ तालको सहर हो ।
लेखनाथका रुपा, बेगनास, न्युरेनी, खास्टे ताल घुम्नलाई एक दिन जसै छुट्याउनुहोला ।

पोखरा आएपछि साहासिक पर्यटनको स्वाद त लिनै प¥यो । जसका लागि प्याराग्लाइडिङ, बन्जी, जिपलाइनको व्यवस्था छ । अलि दिल फुकाएर खर्च गर्ने हो भने अल्ट्रालाइटमा पोखरा फन्को मार्न छुटाउनै भएन ।
पोखरा घुमेर सकेपछि ग्रामीण पर्यटनको मज्जा लिने पर्यटकलाई पञ्चासे, घान्द्रुक, धम्पुस, ताङतिङ, अस्ताम, ल्वाङ, घलेल, मट्टीखान लगायतका गाउँले कुरिरहेका हुनेछन् ।
एक दिने ट्रेकिङको अनुभव गर्नलाई अस्ट्रेलियन बेस क्याम्प, मर्दी हिमाल, खुमैडाँडा लगायतका गन्तव्य निकै प्रख्यात छन् ।
प्रकाशित मिति २०८० कात्तिक ८ गते बुधबार ०६:३०




