२०८३ असोज २४ गते शनिबार

भत्काएर सकेपछि तालबाराही मन्दिरको पुननिर्माण सुरु

भत्काएर सकेपछि तालबाराही मन्दिरको पुननिर्माण सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २२ गते बुधबार १२:००

पहिलो चरणमा तालबाराहीको मुख्य मन्दिर पुर्ननिर्माण हुनेछ ।

पोखरा

तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउछन् । भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन् ।

प्यागोडाशैलीमा बनेको तालबाराहीको पूरानो मन्दिरलाई भत्काएर २ साता अगाडि नयाँ मन्दिर बनाउन शिलन्यास गरिएको छ । तर, ठेक्का पक्रिया अझै पूरा भएको छैन ।

आस्थाको धरोहरको रुपमा रहेको तालबारही मन्दिर विक्रम संवत १४४७ सालमा स्थापना विभिन्न अभिलेखमा उल्लेख छ । २०७२ सालको भुकम्पले चर्काएपछि पुर्ननिर्माण गर्न भत्काइएको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण गरिएको हो । त्यस अगाडि खरले छाएको सानो मन्दिर थियो ।

राजा महेन्द्र पोखरा आएको बेला जिर्णोदार गर्न पहल गरेपछि प्यागोडा शैलीमा दुई तले मन्दिर निर्माण भएको हो । भुकम्पले लच्किएको मन्दिर जीर्ण भएपछि नयाँ बनाउन लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव ध्रुबराज बरालले बताए । ‘७२ सालको भुकम्पले लच्किएको थियो । त्यसपछिको पराकम्पले मन्दिर जीर्णजस्तै भएकाले भत्काइसकेका छौं’, उनले भने, ‘पुननिर्माणमा आवश्यक पर्ने सालको काठ लगायत ढुंगाको व्यवस्थापनको सबै पक्रिया पूरा भएको छ ।’

पहिलो चरणमा तालबाराहीको मुख्य मन्दिर पुर्ननिर्माण हुनेछ । जसको लागत २ करोड ५० लाख रुपैयाँ अनुमान गरेको गुठी व्यवस्थापन समितिका सचिव बरालले जानकारी दिए । उनका अनुसार मन्दिरको पुननिर्माणमा गुठी संस्थान र पुरातत्व विभागले सघाउनेछन् ।

गत बैशाखमा गुठी संस्थान र पुरातत्व विभागसँग समन्वय गरेर मन्दिर भत्काउन सुरु भएको थियो । सुरुमा पुरानो मन्दिरको काठपात पनि प्रयोग गर्ने तयारी थियो । तर, त्यसले छिट्टै जोखिम निम्ताउने सक्ने भएकाले अब नयाँ काठपातको प्रयोगबाट पुननिर्माण हुने तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुवँरले सुनाए ।

उनले भक्तजनले मन्दिर पुननिर्माण गर्न दिएको रकम अनावश्यक काममा खर्च नगरेको दाबी गरे । ‘पूराना काठहरु पनि केही प्रयोग गर्न सकिने अवस्थाका पनि थिए । भोलि त्यसले अर्को घटना घट्यो भने ? आज ६३ वर्षमा मन्दिर खोलियो भने भोलि २००÷३०० वर्षमा पनि भत्काउन नसकियोस् भन्ने हेतु छ’, कुवँरले भने ।

मन्दिर पुननिर्माणसँगै तालबाराही क्षेत्रको विकासको लागि ९ करोड रुपैयाँको वृहत गुरुयोजना तयार भएको छ । मन्दिर व्यवस्थापन समितिले नीजि क्षेत्रसँग सहकार्य गरेर बनाएको गुरुयोजना पुरातत्व विभागसँग थप छलफल गरेर मात्रै कार्यन्वयन हुने कोषाध्यक्ष निर्मल खत्रीले बताए ।

‘मन्दिरको धार्मिक, साँस्कृतिक महत्वमा कमी नआउने गरेर केबल मन्दिरको बाहिरी आवरणको सौन्दर्यकरणमा मात्रै गुरुयोजना बनाएका छौं’, उनको भनाइ थियो ।

उनका अनुसार मन्दिरको पुननिर्माण गर्न लाग्ने रकम २ करोड बढी भक्तजनबाटै संकलन भएको छ । ‘मन्दिर आउने भक्तजनबाट दैनिक रसिद काटेर आर्थिक संकलन भइरहेको छ’, उनले भने । वृहत गुरुयोजना अनुसार काम गर्न आर्थिक संकलनका लागि फागुनमा महायज्ञ सञ्चालनको तयारीसमेत मन्दिर गुठी व्यवस्थापन समितिको छ ।

पोखरा आउने अधिकांश पर्यटकको पहिलो रोजाइ फेवाताल हुन्छ । फेवातालमा पुगेका पर्यटक डुंगा सयर गर्दै तालबाराही मन्दिरमा पुग्ने गर्छन । पछिल्लो समय धार्मिक पर्यटकका लागि तालबाराही मन्दिर जाने बाराही घाटमा साँझपख प्रस्तुत गरिने आरती पर्यटनको नयाँ प्रडक्ट बनेको छ ।

 

 

प्रकाशित मिति २०८० कात्तिक २२ गते बुधबार १२:००
हजुरको प्रतिक्रिया