पोखरा
प्राकृतिक पूजाको रूपमा प्रसिद्ध छठ पर्व मिथिला क्षेत्रमा हर्षोल्लासका साथ आज मनाइँदै छ । छठ पर्वलाई भव्य बनाउन मधेश प्रदेशका आठवटै जिल्लाका विभिन्न नदी, खोला, सरोवर तथा पोखरी सिँगारिएका छन् ।
जनकपुरधामका करिब दुई दर्जन पोखरी, दूधमती नदी र बिग्ही नदीका डिलहरूलाई सजाइएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व चार दिनसम्म चल्नेछ । पहिलो दिन व्रतालुहरू स्नान गरी शाकाहारी तथा शुद्ध भोजन गर्ने गर्छन । दोस्रो दिन खरनामा व्रतालु महिलाहरू दिनभरि व्रत बसी साँझमा सूर्य देवताको पूजा गरी सक्खर मिलाएको गम्हरीको खिर र रोटी खाने चलन छ ।
त्यसपछि व्रतालुहरू निराहार व्रत सुरु गर्छन । जुन व्रत आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र समाप्त हुन्छ । छठमा भाकल गरेकाहरूले पमरिया नचाउने, दण्ड प्रणामलगायतका आ–आफ्नो भाकलअनुसार सूर्य देवताको पूजाआजा गर्ने चलन छ ।
केही दशकअघिसम्म नेपालको तराई र भारतका बिहार, उत्तर प्रदेशलगायतका राज्यमा मनाइने यो पर्व पछिल्लो समय पोखरा, काठमाडाैसहित नेपालका पहाडी जिल्लामा पनि धुमधामका साथ मनाउने गरिएको छ ।
प्रकाशित मिति २०८० मंसिर ३ गते आइतबार ०८:२१




