पोखरा
आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । सनातन समाजमा असार शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ भने यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन पनि रहेको छ ।
एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ भने यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने परम्परा छ । आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ ।
त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ । विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य । बोधको अर्थ हुन्छ उठ्ने । यसैले यी दुई एकादशीको महत्त्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ । अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । भगवान कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन ।
एकादशीको अवसरमा पोखराको सेती नदी किनारमा आज फूल तारिँदैछ । भजन कृतन, नाचगान गरी पूजा गरेर तोरन सेती नदीमा तार्ने गरिन्छ ।
प्रकाशित मिति २०८० मंसिर ७ गते बिहीबार ०७:३२




