पोखरा
अध्याँरो रात, मोबाइलको टर्च बालेर छामछुम गर्दै छंगाछुर भीरको बाटो काट्ने हतारोमा लस्कर थियो । हिमाल र बतासबीच साउती चलिरह्यो ।
जति उकालो चढिन्छ उति नै टाढा लाग्न थाल्छ पुग्नुपर्ने गन्तव्य । उकालोमा स्याँस्याँ गर्दै पदचाप लम्काइरहेको लस्करलाई लाग्छ, ‘डाँडा त जति हिँड्यो झन् पर सरेको स¥यैंछ ।’
छिटोमा २ घण्टा उकालो चढेपछि पुगिन्छ, भ्युपोइन्ट । उज्यालोको चहकले अध्याँरोलाई विस्तारै जित्छ । पूर्वबाट घामको पहिलो झुल्को निस्कनसाथ अन्नपूर्ण साउथ र हिमचुलीको चुचुरो सुनौलो देखियो ।
घामको किरण बढ्दै गएपछि माछापुच्छ्रेसँगै मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायतका हिमालका लस्कर छ्यांगै खुलेको दृश्यले काठमाडौंकी समिता रानालाई मर्दी पदयात्राको सब कठिनाइ भूलाइदियो ।

खुमैडाँडा पदयात्राको योजना बुनेर काठमाडौंबाट हुइकिएकी समिताको पोखरामा पाइला नपर्दै गन्तव्य मोडियो, मर्दी हिमालतर्फ । भ्युपोइन्ट पुगेपछि उनलाई मर्दी पदयात्रा रोजेकोमा चुकचुकी भएन ।
‘स्वर्ग नेपालमा बनेको छ भन्नु एकदमै सही रहेछ । यत्रो हिमालको अगाडि आएर बस्न पाउनु कल्पनाभन्दा बाहिर लागेको छ’, पदयात्राको तेस्रो विहान माछापुच्छ्रेलाई नजिकबाट चुमेपछि तारिफका शब्द मुखारित भयो ।
समिताले थपिन्, ‘तीन दिनको हिँडाइमा माथि आएका थियौं । बाटो एकदमै कठिन थियो । तर, यहाँ आएर वरपर हेरेपछि ‘वाउ’ भइराको छ । बाटोको सबै कुरा बिर्सेर रमाइलो भइराछ ।’
समिताले जस्तै विहानै ३ बजे उठेर छंगाछुर भीरको बाटो छिचोल्दाको दुखजिलोलाई भ्युपोइन्ट पुगेपछि बिर्सिए अभिनन्दन पौडेलले । सुनौले घामको किरणलाई स्पर्श गर्दै माछापुच्छ्रे लगायतका हिमालको समीपमा लहसिएपछि उनलाई मर्दी पदयात्रा बडो मनमोहक लाग्यो ।

‘घामको सुनौलो किरण हिमालमा ठोक्किएपछि निकै मनमोहक देखिने रहेछ । यदि ३/४ दिनको विदा सदुपयोग गर्न चाहान्छौं भने मर्दी ट्रेक बेस्ट छ’, उनले सुझाए ।
पर्यटकीय सिजन सुरु भएसँगै कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा पर्ने मर्दी हिमाल पदयात्रामा पदयात्रीको लस्कर लागेको छ । दैनिक सयौंको संख्यामा उकालो चढिरहेका छन् ।
हरेक दिन विहान ३ हजार ५५० मिटरको उचाइमा रहेको भ्यूपोइन्टमा स्वदेशी र विदेशी पाहुनाको ताँती लाग्छ । स्वदेशीमा तन्नेरी पूस्ता बढी छन् ।
भ्युपोइन्टबाट हिमाललाई स्पर्श गरेर धित नमरेपछि पदयात्रीले फेरि २ घण्टा अक्करे भीरको उकालो छिचोलेर साहसिक यात्रा तय गर्छन् । ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी आधार शिविरमा पुगेर हिउँमा लुटुपुट गर्दै आनन्दित हुन्छन् ।
होटल नमस्ते हाइक्याम्पका सञ्चालक यामबहादुर क्षेत्रीका अनुसार सन् २००० ताका क्यापिङका लागि छिटफुट विदेशी मात्रै मर्दी पदयात्रामा उक्लन्थे । सिदिङतिरबाट भैंसी र भेडा लिएर चरनका लागि उक्लन्थे ।
सशस्त्र जनयुद्धको प्रभावले क्यापिङ गर्न विदेशी आउन छाडे । शान्ति सम्झौतापछि प्रबद्र्धन थालियो र फेरि विदेशी आउन थालेको उनले बताए ।

‘क्यापिङबाट टि हाउस खुल्न थाले त्यसपछि विदेशी पर्यटकले पिकअप लिएको अवस्था हो’, यामबहादुरले सम्झिए । अहिले हाइक्याम्पसम्म सुविधा सम्पन्न होटल खुलेका छन् । भ्युपोइन्टमा दर्जनका हाराहारीमा खुलेको टि हाउसले मुटु कपाउने चिसो सिरेठोमा तातो चियाको चुस्की पिलाउछन् ।
लकडाउनपछि मर्दी हिमाल पदमार्ग नेपाली पर्यटकले गुल्जार भएको हो । अहिले त विदेशी भन्दा नेपाली धेरै उक्लने यामबहादुरले जानकारी दिए । ‘दशैं तिहारको सिजनमा त नेपाली नै बढी आउनुहुन्छ । नोभेम्बरपछि गोरा (विदेशी) हरु नै हुन्छन्’, उनले भने, ‘यतिबेला त नेपाली नै धेरै आएका छन् दशैं तिहारको छुट्टीले गर्दाखेरी ।’
यसकारण मर्दी पदयात्रीले रुचाउँछन्
मर्दी पोखराबाट हिमाललाई स्पर्श गर्न आधार शिविरसम्म पुग्न छोटो दुरीमा भएकै कारण पदयात्रीले बढी रुचाएका हुन् । १० वर्षदेखि मर्दी हिमाल पर्यटक लिएर ओहोरदोहोर गरिरहने गाइड तिलक गुरुङ पनि छोटो दुरीमै भएको कारण रुचाइएकोमा सहमत छन् ।

उनी भन्छन्, ‘थोरै दिनमा बटम लेबलबाट टप लेबलमा टप लेबलबाट बटम लेबलमा अपडेट गर्न सकिन्छ । यति छोटो समयमा अरु गन्तव्यमा याक देख्न मुस्किल पर्छ यहाँ सजिलै देख्न सकिन्छ ।’
उनको भनाइमा हिमालसँगै पहाडका टाकुराले पनि पर्यटकलाई लोभ्याउँछ । सिजनका बेला फरेस्टक्याम्प कटेसि राताम्मे फूलेका लालीगुराँसले दिलमा डेरा जमाउँछ । त्यै बेलामा हिमालका लस्कर हिउँको बर्को ओडेर मुस्कुराइरहन्छन् । जंगलमा चराचुरुङ्गीको सुमधुर संगीत, फुलेका अनेकौं फूलहरुले चिसो सिरेठोमा न्यानो आतिथ्यता टक्राइरहेको हुन्छ ।
कसरी पुग्ने मर्दी हिमाल ?
नेपाली पदयात्रीले ३ दिनमै पोखराबाट सुरु गरेर पोखरा फर्कन्छन् । विदेशी पदयात्री भने हप्ता दिनसम्म पनि उतै हराउछन् ।
मर्दी पुग्नलाई लो क्याप्पसम्म २ वटा रुट छ । त्यहाँबाट माथि भने एउटै रुट हो । फरेस्ट क्याम्पसम्म पनि २ वटा रुट छन् ।
विदेशीले धेरै रुचाउने रुट पोखराबाट काँडेसम्म गाडीमा चढेर धम्पुस, प्रितम देउराली, डुडखर्क हुँदै फरेस्ट क्याम्प पुगेर पहिलो दिनको बास बस्ने ।
कम हिँड्ने तर, पदयात्रामा रमाउन चाहाने नेपाली पदयात्रीलाई भने कालिमाटीसम्म जिपको यात्रा गरेर जंगलैजंगल हिँड्दै फोरस्टे क्याम्पमा पुगेर बास बस्न उपयुक्त हुन्छ । कालिमाटीबाट बढीमा ४ घण्टामा फोरेस्ट क्याम्प पुगिन्छ ।
अर्को कठिन र धेरै हिँड्नुपर्ने रुट हो, सिदिङदेखि लो क्याम्पसम्म । सिदिङसम्म गाडीमै पुगिन्छ । त्यहाँबाट झन्डै ४ घण्टा उकालो चढ्नुपर्छ लो क्याम्प पुग्नलाई । फोरेस्ट क्याम्प र लोक क्याम्पमा बास बसेका दोस्रो दिन बढीमा ८ घण्टाको यात्रामा हाइक्याम्प पुगेर बास बस्छन् ।

तेस्रो दिन हाइक्याम्पबाट उज्यालो नहुँदै कम्तिमा पनि २ घण्टाको उकालो चढेर भ्यूपोइन्ट चढ्नुपर्छ । भ्यूपोइन्टको खास विशेषता सूर्योदय अवलोकन र सुनौला देखिने हिमाल हेर्नु हो ।
तसर्थ पनि सूर्योदय अगावै पुग्न नसके मर्दी यात्रामा केही छुट्नेछ । त्यहाँबाट २ घण्टा उकालो चढेर मर्दी हिमालको आधार शिविरमा पुगिन्छ ।
आधार शिविरमा हिउँ खेलेर हाइक्याम्प फर्कन झन्डै ३ घण्टा समय लाग्छ । तेस्रो दिनको बास बादलडाँडा वा लो क्याम्पमा बस्दा उपयुक्त हुन्छ । तर अधिकांश नेपाली पर्यटक तेस्रो दिन नै पोखरा फर्कन्छन् । कोहि सिदिङ हुँदै त कोही कालिमाटी र काँडे भएर ।
कति लाग्छ खर्च ?
मर्दी पदयात्रामा कति खर्च गर्ने तपाईमै निर्भर रहन्छ । साधरण खर्च गर्ने हो भने ७ देखि १० हजार रुपैयाँले पोखराबाट मर्दी हिमालको आधार शिविर पुगेर फर्कन सकिन्छ ।
जति उकालो चढिन्छ उति नै खर्चको ग्राफ बढिरहन्छ । फरेस्ट क्याम्पमा बेलुकाको खाना, रातको बसाइ र भोलिपल्टको ब्रेकफास्ट गरेर २ हजार रुपैयाँ हाराहारी प्याकेज छ ।
लो क्याम्पबाट उकालो लागेपछि एक छाक खानाको ७ सय रुपैयाँ बढी लाग्छ । हाइक्याम्पमा बेलुकीको खाना, रातको बास र ब्रेकफास्टको २ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
फर्कदा बाटोमा खाना खाएको ७ सय बढी । फोरेस्ट क्याम्प वा सिदिङमा बास बसको खण्डमा अर्को २ हजार रुपैयाँ खर्च लाग्नेछ ।





