पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् ।
संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनको भनाइ थियो ।
‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ । संघ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ’ बुधबार प्रदेश विकास समस्या समाधान समितिको बुधवारको बैठकमा मुख्यमन्त्री पाण्डेले भने ।
निजामती सेवा ऐन, प्रहरी समायोजना ऐन, जग्गा प्राप्ती र शिक्षा ऐन आउला भन्ने आशै आशमा समय घर्किएको उनले सुनाए । ‘संघियताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन । चाँहदा चाँहदै अधिकार नहुँदा, कानुन नहुँदा काम गर्न सकिएको छैन’ उनले भने ।
यसअघि पोखरामा भएको राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय केही समाधान भएको र धेरै बाँकी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले ६ महिनाभित्र कार्यान्वयन हुनुपर्ने विषय हुन्छ कि भन्ने आशा अझै जीवित रहेको उनले उल्लेख गरे ।
संघ सरकारले कानुन निर्माण गरिदिनुपर्ने या संघियताको बारेमा पुर्नबिचार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । संविधान अनुसार एकल र साझा अधिकारको सुचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिवद्ध गरि अधिकार बाँडफाँट गर्दा संघियता ‘सिस्टम’ मा जाने मुख्यमन्त्री पाण्डेको भनाई छ ।
संघिय सांसदहरुलेपनि प्रदेशलाई बनाईदिनुपर्ने कानुन निर्माणमा संघ सरकारलाई सहजिकरण नगरेको गुनासो उनको छ ।
प्रदेश विकास समस्या समाधान समितिको बैठकमा गण्डकी प्रदेश भित्रका विषयगत मन्त्रालयहरुले भोग्नुपरेको समस्या, स्थानीय तहका गुनासो, समाधानका उपाएका बारेमा छलफल भएको थियो । नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले यस अघिको बैठकका निर्णय कार्यान्वयनको अवस्था र मन्त्रालयगत समस्याका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
प्रकाशित मिति २०८० मंसिर २७ गते बुधबार ०४:३४




