नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको बताएका छन् ।
शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सन्देश यात्रामा नयाँ दलप्रति आकर्षण नदेखिएको बताएका हुन् ।
एमालेमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गरे । एमाले पुरानो पार्टी भयो भन्नेलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।
‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौंतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो’, उनले भने, ‘नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ के भने तल जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन ।’
वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको उनको आरोप छ । एमाले पहिचानबिरोधी नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘एमाले पहिचानबिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौं’, उनको स्पष्टीकरण थियो ।
प्रकाशित मिति २०८० मंसिर ३० गते शनिबार १२:५५




