पोखरा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बर्षदिनमा गरेको कामको रिपोर्ट कार्ड बुझाउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड मागेमा असन्तुष्टि जनाउदै उनले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागेका हुन् । प्रधानमन्त्री दहालले खास काम गर्न नसकेको उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीले मन्त्रीहरुको रिपोर्टकार्ड लिने भन्नुभाछ । म त प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु यो एक बर्षमा उहाँले एक बर्षमा के काम गर्नु भो ?’, उनको भनाइ थियो ।
नेपाली कांग्रेस गण्डकीको प्रथम सम्मेलनमा बोल्दै नेता कोइरालाले वर्तमान सरकारले केही काम गर्नै नसक्दा उद्योग धन्दा सबै ठप्प भएको टिप्पणि गरे । नेपाली कांग्रेसले अर्थतन्त्र सुधारमा काम गर्नुपर्ने उनको भनाइ छ ।
गठबन्धन गरेर चुनाव लड्दा नेपाली कांग्रेसको समानुपातिक मत घटेको उनको विश्लेषण छ । नेपाली कांग्रेस एक्लै लड्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए । भने, ‘कांग्रेसले एक्लै लड्ने प्रयास गरौं । व्यक्तिवादी चरीत्र र उग्र महत्वकांक्षा त्याग्न सक्यौं भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैनन् । हामिलाई कांग्रेसका साथीहरुले हराउने हो !’
एक ढिक्का भएर लागे नेपाली कांग्रेसलाई कसैले हल्लाउन नसक्ने उनको दाबी थियो । गुटउपगुटले पार्टिलाई कमजोर बनाउने उनी बताउँछन् । आफुले पनि गुट चलाएको स्विकार्दै व्यक्तिगत भन्दा पनि वैचारिक ढंगले गुट चलाउनुपर्ने उनको सुझाव छ ।
उनले संघियता बलियो बनाउन केन्द्रले प्रदेश र स्थानिय तहलाई अधिकार दिनुपर्ने धारणा राखे । ‘केन्द्रमा बस्नेले प्रदेशलाई अधिकार नदिने संघीयता कसरी बलियो हुन्छ?’, उनको प्रश्न छ ।
अहिलेदेखि नै १५ औं महाधिवेशनको तयारीमा कांग्रेसका नेता कार्यकर्ता जुटेकोमा नेता कोइरालाको असन्तुष्ट जनाए ।
प्रकाशित मिति २०८० पुस ३ गते मंगलबार ०८:४०




