२०८३ असोज २४ गते शनिबार

देशको अवस्था र व्यवस्थामाथि प्रश्न उठाउँदै सकियो कांग्रेस गण्डकीको सम्मेलन

देशको अवस्था र व्यवस्थामाथि प्रश्न उठाउँदै सकियो कांग्रेस गण्डकीको सम्मेलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ४ गते बुधबार ०८:०९

कांग्रेसभित्र गुटबन्दी मौलाएको, जसरी पनि पद र सत्ता हात पार्न लागि पर्ने प्रवृति हाबी भएको प्रतिवेदनमै उल्लेख थियो ।

केन्द्रीय नेतृत्व जस्तै प्रदेश पनि विधि विपरित चलेको आरोप

पोखरा

अहिलेको राजनीतिक नेतृत्व र व्यवस्थाप्रति नै चर्को असन्तुष्टिका स्वरहरु गुञ्जिँदै नेपाली कांग्रेस गण्डकी प्रथम सम्मेलन सकिएको छ ।

२ दिनसम्म पोखरामा चलेको सम्मेलनका सहभागीले व्यवस्थाविरोधी आवाजहरुसमेत निकालेका छन् । उद्घाटन सत्रमा गण्डकी सभापति शुक्रराज शर्माले नै धर्मनिरपेक्ष हटाएर सनातन धर्म राख्नुपर्ने बताएका थिए भने पूर्व महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी लगायतले धर्मनिरपेक्षता हटाउनुपर्ने बताए ।

संविधानले गरेको व्यवस्थाकैविरुद्ध नेताहरुले नै बोल्दा सम्मेलनको बन्द सत्रमा पनि धर्मनिरपेक्षता र संघीयतामाथि नै कांग्रेस कार्यकर्ताले प्रश्न गरेका छन् ।

सम्मेलनमा कांग्रेसभित्र गुटबन्दी मौलाएको, जसरी पनि पद र सत्ता हात पार्न लागि पर्ने प्रवृति हाबी भएको प्रतिवेदनमै उल्लेख थियो । प्रतिवेदन पेश गर्दै महामन्त्री किरणबाबु श्रेष्ठले असर नेतृत्वको निगाहामा होइन, योग्यता, क्षमता, त्याग र तपस्याको यथार्थ मूल्यांकनको आधारमा हुन्छ भन्ने विश्वास दिलाउने पर्ने बताए । संघीयतालाई बलियो बनाउनुको सट्टा नेताहरुले बद्नाम गराउने काम गरेको गुनासो कार्यकर्ताको थियो ।

प्रदेश समिति निर्वाचित भएको २ वर्षमा कार्यकर्तासँग जोडिन नसकेको त्यो बेला सभापतिका प्रत्यासीसमेत रहेका केन्द्रीय सदस्य अर्जुन जोशीले बताए ।

सम्मेलनमा प्रदेश सभा शुक्रराज शर्माले एकलौटी गरेको, विधान मिचेको, बन्द सत्रमा बोल्न नदिएको गुनासोसमेत सहभागीको थियो । केन्द्रीय सदस्य जोशी, कास्की जिल्ला सभापति किशोरदत्त बराललगायतलाई बोल्नै नदिएको, बोल्ने क्रममा आफू मन नपर्ने कुरा राख्नै नदिएको गुनासोसमेत प्रतिनिधिले गरेका छन् । शर्माले विधानविपरीत आमन्त्रित सदस्य नियुक्त गरेकोसमेत आवाज बन्द सत्रमा उठेको थियो ।

बन्द सत्रमा कांग्रेसको सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदन पहिले नै हस्ताक्षर गराएर पारित गरिएकोसमेत एक पक्षले गुनासो गरेका छन् ।

गण्डकी प्रदेश समितिमा देउवा पक्षका जम्मा ४ जनामात्रै सदस्य छन् । अल्पमतको आवाज दबाएकोसमेत शर्मालाई आरोप लागेको छ ।

सभापति शर्माले भने प्रदेश समितिले ठूलो बहस र तरंग सिर्जना गर्दै सम्मेलन सम्पन्न गरेको बताए । सम्मेलनमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति २०८० पुस ४ गते बुधबार ०८:०९
हजुरको प्रतिक्रिया