काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयाेजना गर्न लागिएकाे ‘२५औँ पोखरा सडक महोत्सव’ काे तयारी तिव्र पारिएकाे आयोजकले जनाएकाे छ । पुस १२ देखि १६ गतेसम्म पोखराकाे लेकसाइडमा हुने महाेत्सव सफल पार्न आयाेजक संस्था रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराले काठमाडाैंमा पत्रकार सम्मेलन गरेकाे छ ।
पोखरामा पर्यटन प्रवद्र्धन गर्नका लागि ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने सडक महोत्सव हुन लागेको हो ।
रेवान पोखराले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विश्वराज पौडेलले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा मनोरञ्जन प्रदान गर्नुको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्र फिस्टेल गेटदेखि चौतारा हुँदै जरेवर लेकसाइड सम्ममा महोत्सव गर्न लागिएको उल्लेख गरे ।
महोत्सवमा २५ वटा खानाका स्टलहरु, हस्त कला र अर्गानिक खानाका परिकारका स्टलहरु निशुल्क रहने उनले बताए ।
त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८० पुस ६ गते शुक्रबार १२:०१




