यःमरी बनाउने प्रतियोगिता हुने
पोखरा
यमरी पूर्णिमामा पोखरामा यःमरी महोत्सव हुने भएको छ । महोत्सवमा नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने प्रतियोगितासमेत हुनेछ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजना र नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस ९ गते महोत्सव हुन लागेको हो ।
यमरी प्रतियोगिताको विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । उनका अनुुसार दोस्रोले ७ हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ र चौथोंले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखराको पूरानो बस्ती गणेशटोलमा महोत्सव हुने वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । ‘पोखराको पूरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ । यसलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ मूल उदेश्यका साथ महोत्सवको आयोजना गरेका छौं’, उनले भने ।
बाटोघाटो मात्रै नभइ विकासका लागि कला संस्कृतिको संरक्षणको पनि आवश्यकता रहेको वडाध्यक्ष पराजुलीको भनाइ छ ।
महोत्सवमा यःमरीको प्रदर्शनीसँगै पाहुनालाई स्वाद चखाउन बिक्रीको व्यवस्था मिलाइने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । नेवारी परिकारको प्रदर्शनीसँगै खरिदबिक्री हुनेछ ।
महोत्सवमा पोखरेली लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ ।
मौलिक लाखे नाच, कुमारी नाच लगायत सांस्कृतिक झाँकीहरुको प्रदर्शनी हुने जनाइएको छ ।
महोत्सवमा सहभागी हुने झाँकीमध्य उत्कृष्टले ७ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले ५ हजार रुपैयाँ र तेस्रोले ३ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछ ।
प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०७:३२




