२०८३ असोज २४ गते शनिबार

राष्ट्रिय सभा चुनावमा भागबण्डा मिलाउन दलहरुको दैडधूप, एमाले गण्डकीबाट ९ जनाको सिफारिस

राष्ट्रिय सभा चुनावमा भागबण्डा मिलाउन दलहरुको दैडधूप, एमाले गण्डकीबाट ९ जनाको  सिफारिस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १९ गते बिहीबार ०८:१८

 गण्डकीमा नेकपा एमालेसँग भन्दा गठबन्धनसँग १ हजार ३ सय १६ मत बढी छ । 

पोखरा

राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी मनोनयनको मिति नजिँकिएसँगै सत्तासिन दलहरु भागवण्डा मिलाउन छलफलमा जुटेका छन् । माघ ११ गते हुने निर्वाचनमा पुस २३ गते उम्मेदवारी मनोनयनको तालिका रहेकाले दलहरु भागवण्डा मिलाउन दौडधूपमा छन् । हिजो बसेको सत्तासिन दलको बैठकमा एमालेलाई जिरो नबनाउन अध्यक्ष ओलीले आग्रह गरेको बारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका थिए ।

ओलीको आग्रह बारे प्रचण्डले जानकारी गराएपछि सत्तारूढ गठबन्धनको बैठकमा राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा हिजोको बैठमा छलफल भएको हो । सिट भागवण्डाको बारेमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले एमालेलाई पनि समेटेर जाने बारेमा छलफल चलेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजे पुनः बैठक बस्ने दलहरुबीच सहमति भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेप्रति उदारता नदेखाउने हो भने एमालेबाट रिक्त हुने ९ सिट लगायत अहिले चुनाव हुने १९ सिटमा एमाले शून्य हुने अवस्था छ । तर सत्तारुढ दलहरुले राष्ट्रियसभामा एमालेलाई पनि भाग दिने गरी छलफल अघि बढाएका छन् । दलहरुसँग मिलेर जान एमालेपनि तयार भएको छ ।

एमाले गण्डकीबाट ९ जनाको नाम सिफारिस

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकीले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश कमिटी बैठकले ९ जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय कमिटिलाई अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ ।

अपांग तथा अल्पसंख्यकमा कास्कीका मेघराज शर्मा, मुस्ताङको हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस भएको छ । महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङजाकी इश्वरी सिग्देल अर्यालको नाम गण्डकी प्रदेश कमिटीले पठाएको छ । गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना सहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन । पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

गण्डकीमा नेपाली काँग्रेसको ३ हजार १ सय ७९ मतभार रहँदा एमालेको २ हजार ४ सय ५८ मत छ । नेकपा माओवादी केन्द्रको ९ सय ४१, नेकपा एसको ७२ र जनमोर्चाको ५७ मत छ । गण्डकीमा पनि गठबन्धनसँग एमालेको भन्दा १ हजार ३ सय १६ मत बढी छ । एमाले एक्लै चुनावमा जाँदा गण्डकीका २ वटै सिट गुम्ने निश्चित प्राय नै दखिको छ । विगतको राष्ट्रिय सभाको चुनावमा केही मत क्रस भएपनि नतिजा नै उल्टिने गरी भने भएको छैन ।

 

प्रकाशित मिति २०८० पुस १९ गते बिहीबार ०८:१८
हजुरको प्रतिक्रिया