२०८३ असोज २४ गते शनिबार

देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण

देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २० गते शुक्रबार १२:५७

‘एमाले, एक–दुई सिटका लागि जे पनि हस् ? यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भै’गो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’ एमालेको शैलीप्रति असन्तुष्ट रहेका डा. शेखरले फेसबुकमा लेखेका छन्, ‘संसदीय समितिका तीन सभापति र राष्ट्रियसभाका दुई÷तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हो ।’

काठमाडौं

आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई भाग दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लचक देखिएका छन् ।

तर, इतर समूहका नेताहरु देउवाको लचकताप्रति रुष्ट छन् ।

इतर समूहका नेता डा.शेखर कोइराला एमालेलाई भाग दिन देउवा तयार भएपछि त्यसको विरोधमा छन् । कांग्रेस एक्लै लड्नुपर्ने शेखर पक्षको अडान छ ।

बिहीबार डा. शेखरले ट्विट गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको आलोचना गरेका छन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा प¥यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले लेखेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

डा. शेखरको उक्त अभिव्यक्तिले राष्ट्रिय सभामा सिट बाँडफाँटको विषय सत्ता गठबन्धनभित्र नभइ कांग्रेसभित्रै सहमति जुटाउन सकस हुने देखिएको छ ।

देउवाको लचकताप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सन्तुष्ट छैनन् ।

राष्ट्रसभाका विषयमा उनीहरु मौन देखिए पनि गठबन्धनका बैठकहरुमा महामन्त्रीलाई नबोलाएको र एकलौटी रुपमा छलफल भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् ।

राष्ट्रिय सभाकै विषयमा विमती बढ्न थालेपछि सभापति देउवाले पुस २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन् । बैठकमा राष्ट्रिय सभाकै विषयमा छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच सिट बाँटफाँटको विषयमा छलफल हुन थालेपछि सभापति देउवा निकट केन्द्रीय सदस्य नैनसिंह महरले त्यसको आलोचना गरेका छन् ।

उनले लोकतन्त्र सत्ता र प्रतिपक्षी दल हुने भन्दै प्रतिपक्षविहीन व्यवस्था बनाउन खोजिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुःखद भएको महरको ठहर छ ।

वास्तवमा एमालेलाई भाग दिने विषयमा कांग्रेस नेताहरु सहमत देखिदैनन् । तर, सभापति देउवा एमालेप्रति लचक भइसकेका छन् ।

सभापति देउवा र इतर पक्षका नेताहरुबीच दूरी बढ्न थालेपछि ‘कोशी विद्रोह’ स्मरण गर्न थालिएको छ ।

‘एमाले, एक–दुई सिटका लागि जे पनि हस् ? यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भै’गो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’ एमालेको शैलीप्रति असन्तुष्ट रहेका डा. शेखरले फेसबुकमा लेखेका छन्, ‘संसदीय समितिका तीन सभापति र राष्ट्रियसभाका दुई÷तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हो ।’

डा शेखरलाई सिट घट्ने डर

विशेषत एमालेलाई सिट बाँड्दा गठबन्धनका सबै दलको सिट घट्ने र कांग्रेसले क्षति व्यहोर्नुपर्ने भएकाले इतर पक्षका नेताहरु देउवाको लचकताप्रति सन्तोष मानिरहेका छैनन् ।

किनकी १० सिटको दाबी गरिरहेको कांग्रेसले सिट बाँडफाँट गर्दा इतर पक्षको पनि सिट घट्नेछ ।

जसको असर डा.शेखर समूहले व्यवहोर्नुपर्ने निश्चित छ ।

गत असोजको तेस्रो साता कोशी प्रदेशमा शेखर समूहका ८ सांसद र एमालेका ३९ सहितको हस्ताक्षर गरेर आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्याएका डा.शेखरले राष्ट्रिय सभा निर्वाचनमा पनि केही हलचल ल्याउन सक्ने अनुमान गरिन्छ ।

किनकी कार्की मुख्यमन्त्री नियुक्त भएपछि प्रचण्ड, देउवा र डा.कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति नै गर्नुपरेको थियो ।

शेखरले कोशीमा एमालेको सहयोगमा चालेको कदमले राष्ट्रिय सभामा काम गर्नसक्ने आकंलन गरिएपनि त्यो सहज भने छैन् ।

प्रकाशित मिति २०८० पुस २० गते शुक्रबार १२:५७
हजुरको प्रतिक्रिया