पोखरा ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशन हुँदैछ ।
उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाका रिक्त रहेका १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । आज उजुरीको जाँचबुझ सकिने भएकाले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको हो ।
उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।
निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् भने शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहको छ ।
माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान तय भएको छ ।
प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०९:४२




