२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार

पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २७ गते शुक्रबार ११:१६

कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ ।

संसारकै लामो केवलकारको निर्माणका लागि ५५ अर्ब खर्च हुने अनुमान

काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ ।

सो प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ ।

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केवलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए । त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआईए)का लागि जिम्मेवारी दिएका थिए । तर कानूनी समस्या भएका कारण काममा ढिलाई भएको सो कम्पनीका अध्यक्ष सुवेदीले बताए ।

उनले कानूनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रिया रोकिएकोमा अब निमार्णका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्तावेजहरू कानूनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्तावेज पेश गरिएको बताए ।

भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केवलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केवलकार बनाउने भएको हो । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदी भौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् ।

प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ११:१६

हजुरको प्रतिक्रिया