'जानाजान बचतकर्ताको पैसा डुबाइएको छ'
पोखरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठनादेशबाटै भए पनि तत्काल नयमनकारी निकाय गठन गर्ने बताएका छन् ।
अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषित गर्ने भनेर निर्णय गरेर अगाडि बढेको श्रेष्ठले बताएका हुन् ।
पोखरामा शुक्रबारबाट सुरु भएको प्रादेशिक सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले नेपालको सहकारी मूल्यमान्यताबाट विचलित हुन थालेको बताए ।
सहकारी ठग्ने वित्तीय संस्था बनेको उनको भनाइ थियो । त्यसो हुन नदिनका निम्ति ऐनको संशोधनको प्रक्रिया अगाडि बढेको श्रेष्ठले बताए ।
सहकारी नियमनको पनि समस्या रहेको श्रेष्ठको भनाइ थियो । बचत तथा कर्जा सुरक्षण कोष घोषणाा गर्ने तयारी सरकारले गरेको बताए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीको पहिचान गरी अन्तिम निश्कर्ष दिन यही ढंगले काम गर्दा १० वर्ष लाग्न सम्भावना रहेको श्रेष्ठको भनाइ थियो ।
त्यसकारण समितिमा जनशक्ति थपेर हरेक मुख्य सहरका समस्याका निम्ति एउटा युनिट खडा गरेर छिटो निश्कर्षमा पु¥याउने श्रेष्ठले बताए ।
समस्याग्रस्त पहिचान भएका सहकारीका चलअचल सम्पत्ति बिक्री गरेर त्यसबाट पनि बचतकर्तालाई न्याय दिनेतिर जानुपर्छ भनेर लागिपरेको श्रेष्ठको आश्वसन थियो ।
सहकारीका नाममा ठगहरु देखा परेको श्रेष्ठको भनाइ थियो ।
‘सञ्चालकहरु ठग परेका छन्, जानाजान बचतकर्ताको पैसा डुबाइएको छ । अनियमितता भएको छ, अवैधानिक काम भएको छ र बचतकर्ताको ठूलो हिस्सा बिचल्लीमा पारिएको छ,’ श्रेष्ठले भने ।
प्रकाशित मिति २०८० माघ १९ गते शुक्रबार ०७:२८




