२०८३ असोज २५ गते आइतबार

बागलुङका जीतबहादुरसहित रुसी फौजमा ७ नेपालीको मृत्यु

बागलुङका जीतबहादुरसहित रुसी फौजमा ७ नेपालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १ गते बिहीबार ०६:१४

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको जानकारी गराएको हो

रुसी फौजमा मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो

पाेखरा

रुसी सेनामा कार्यरत बागलुङ जिल्लाका जीतबहादुर बिकसहित ७ जनाको नेपालीको मृत्यु भएकोे पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा बागलुङका बिगसहित धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।

यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।

यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ । नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरुले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यसअघि नै जनाएको थियो ।

मन्त्रालयले १८ मंसिर र ४ पुसमा प्रेस विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाएको छ ।

प्रकाशित मिति २०८० चैत १ गते बिहीबार ०६:१४
हजुरको प्रतिक्रिया