पोखरा
नेकपा एमाले जिल्ला कमिटी कास्कीको चैत १० र ११ गते हुने ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट बुधाबार हुने भएको छ । विवादका कारण रोकिएको प्रतिनिधि छनोट बुधाबार हुन लागेको एमाले कास्कीका अध्यक्ष मन गुरुङले जानकारी दिए ।
यसअघि चैत ३ गते प्रतिनिधि छनोटको मिति तय गरिएको थियो । तर, दुई पक्षविच विवाद हुँदा एमाले केन्द्रीय संगठन विभागले तत्काल प्रतिनिधि छनोट नगर्न निर्देशन दिएपछि प्रतिनिधि छनोट रोकिएको थियो । जिल्ला कमिटी कास्कीको सोमबार बसेको बैठकमा सहमति गर्दै प्रतिनिधि छनोट बुधाबार गर्न निर्णय भएको हो ।
यसअघि अध्यक्ष मन गुरुङसर्कुलरप्रति जिल्ला इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापा, जिल्ला सचिव बैनबहादुर क्षेत्रीसहितका पदाधिकारीले असहमति जनाएका थिए । अध्यक्ष गुरुङको सर्कुलरमा भने ४० भन्दा बढी सदस्य भएको हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्नेछ भन्ने उल्लेख थियो । तर, इन्चार्ज थापा पक्षले पनि प्रत्येक ४० जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने धारणा राखेपछि विवाद चुलिएको थियो ।
जिल्ला कमिटीको सोमबार बसेको बैठकले ३० जना बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेसँगै चुनाव प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपि शर्मा ओलीले गर्ने जिल्ला कमिटी अध्यक्ष मन गुरुङले बताए । अधिवेशनको उद्घाटन चैत १० गते सभागृतमा हुनेछ । ्
प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०४:१४




