२०८३ असोज २५ गते आइतबार

स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक छैन्ः विनोद चौधरी

स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक छैन्ः विनोद चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ८ गते बिहीबार ११:२८

१० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको उनको भनाइ छ ।

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् ।

बिहीबार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको बताएका हुन् ।

सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए ।

आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको उनको भनाइ थियो ।

सांसद चौधरीले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने उल्लेख गरे ।

आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेकोसमेत उनले बताए ।

सांसद चौधरीले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।

सांसद चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद रहेको जिकिर गरे ।

१० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको उनको भनाइ छ ।

साथै सांसद चौधरीले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको पनि उल्लेख गरे ।

सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।

प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ११:२८
हजुरको प्रतिक्रिया