गुटगत प्यानलै प्रतिस्पर्धाको तयारी
पोखरा
नेकपा एमाले जिल्ला कमिटी कास्कीको शनिबारदेखि सुरु भएको ११ औं अधिवेशनमा आज बन्द सत्र सकेर मनोनयन दर्ताको कार्यक्रम सुरु गर्ने तयारी छ ।
पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार उद्घाटन सत्र सकिएपछि अहिले पोखरा सभागृहमा बन्द सत्र सुरु भएको छ ।
अधिवेशनको उद्घाटन शत्रमा महासचिव पोखरेलसहित सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य थपमाया थापा, खगराज अधिकारीलगायतले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
आजको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश र त्यो पारित भएपछि मनोनयको कार्यक्रम सुरु हुने सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । आज निर्वाचन तालिका सार्वजनिक गर्ने र भोलि प्रक्रिया सुरु हुन पनि सक्ने उनको भनाइ थियो ।
अधिवेशनबाट १ सय २० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । कमिटीले थप २१ जना मनोनित गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनका लागि ९ सय ३५ जना प्रतिनिधि छनोट भएका छन् ।
एमाले कास्कीको नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने समय बाँकी रहेपनि सम्भावना भने निकै कम रहेको नेताहरुको दौडधुपले देखाएको छ । गण्डकी प्रदेश अधिवेशनमा जस्तै कास्कीमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका बीचमै प्रतिस्पर्धा हुने देखिएकोे छ ।
यसपटक पनि दुई पक्ष सक्रिय रहेकाले प्यानल बनाएरै जाने उच्च सम्भावना देखिएको छ । अधिवेशनका लागि पोखरा आएका केन्द्रीय नेताहरु पनि कास्कीमा सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिरहेका छन् । तर, भित्रभित्रै प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्षको आन्तरिक तयारी छ ।
कास्कीमा पृथ्वीसुब्बा पक्षबाट अहिलेका उपाध्यक्ष तेजनारायण र नेता माधव बास्तोला अध्यक्षका आकांक्षी छन् । खगराज पक्षले अहिलेका सचिव बैनबहादुर अधिकारी क्षेत्रीलाई अध्यक्षको उम्मेदवार बनाउने पक्का गरिसकेको छ भने सचिवमा दर्शन लामाको नाममा सहमति भइसकेको छ ।
प्रकाशित मिति २०८० चैत ११ गते आइतबार ०९:२१




