२०८३ असोज २५ गते आइतबार

राजनीति

एमाले कास्की अधिवेशनः आज बन्द सत्रसकेपछि बल्ल मनोनयन

एमाले कास्की अधिवेशनः आज बन्द सत्रसकेपछि बल्ल मनोनयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ११ गते आइतबार ०९:२१

आजको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन  पेश र त्यो पारित भएपछि मनोनयको कार्यक्रम सुरु हुने

गुटगत प्यानलै प्रतिस्पर्धाको तयारी

पोखरा

नेकपा एमाले जिल्ला कमिटी कास्कीको शनिबारदेखि सुरु भएको ११ औं अधिवेशनमा आज बन्द सत्र सकेर मनोनयन दर्ताको कार्यक्रम सुरु गर्ने तयारी छ ।

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार उद्घाटन सत्र सकिएपछि अहिले पोखरा सभागृहमा बन्द सत्र सुरु भएको छ ।

अधिवेशनको उद्घाटन शत्रमा महासचिव पोखरेलसहित सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य थपमाया थापा, खगराज अधिकारीलगायतले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

आजको बन्द सत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन  पेश र त्यो पारित भएपछि मनोनयको कार्यक्रम सुरु हुने सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । आज निर्वाचन तालिका सार्वजनिक गर्ने र भोलि प्रक्रिया सुरु हुन पनि सक्ने उनको भनाइ थियो ।

अधिवेशनबाट १ सय २० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । कमिटीले थप २१ जना मनोनित गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनका लागि ९ सय ३५ जना प्रतिनिधि छनोट भएका छन् ।

एमाले कास्कीको नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने समय बाँकी रहेपनि सम्भावना भने निकै कम रहेको नेताहरुको दौडधुपले देखाएको छ । गण्डकी प्रदेश अधिवेशनमा जस्तै कास्कीमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका बीचमै प्रतिस्पर्धा हुने देखिएकोे छ ।

यसपटक पनि दुई पक्ष सक्रिय रहेकाले प्यानल बनाएरै जाने उच्च सम्भावना देखिएको छ । अधिवेशनका लागि पोखरा आएका केन्द्रीय नेताहरु पनि कास्कीमा सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिरहेका छन् । तर, भित्रभित्रै प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्षको आन्तरिक तयारी छ ।

कास्कीमा पृथ्वीसुब्बा पक्षबाट अहिलेका उपाध्यक्ष तेजनारायण र नेता माधव बास्तोला अध्यक्षका आकांक्षी छन् । खगराज पक्षले अहिलेका सचिव बैनबहादुर अधिकारी क्षेत्रीलाई अध्यक्षको उम्मेदवार बनाउने पक्का गरिसकेको छ भने सचिवमा दर्शन लामाको नाममा सहमति भइसकेको छ ।

प्रकाशित मिति २०८० चैत ११ गते आइतबार ०९:२१
हजुरको प्रतिक्रिया