काठमाडौं
टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो ।
नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन जोडे । लोकेश बलले २५ रन, कप्तान विनोद भण्डारी २६, आरिफ शेख १४, किरण थगुन्ना ३, पवन सर्राफ १० र बसिर अहमद २७ रनमा आउट भए ।
बलिङमा आयरल्यान्ड ‘ए’ ले बेन व्हाइटले ३, फिओन ह्यान्ड र टम मेयसले दुईदुई, म्याथ्यु फोस्टर र ग्यारेथ डेल्नीले एकएक विकेट लिए ।
यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।
आयरल्यान्ड ‘ए’ का लागि पिजे मुर, निल रक ७१, फिओन ह्यान्ड १९, रस अडेर १७, जेम्स मक्कोलम २६, ग्यारेथ डेल्नी १० रन बनाएका थिए । बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिएका हुन् ।
यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले जितेको छ । पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो ।
प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०४:३६




