तनहुँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश अस्थिरतातिर जान्छ कि भन्ने चिन्ताले सताएको बताएका छन् । तनहुँको भिमादस्थित जनज्योेति क्याम्पसको ५औं अधिवेशन तथा भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पार्टीहरुको राजनीतिप्रति आफ्नो भन्नु केही नभएपनि देशमा अस्थिरताको श्रृङ्खला शुरु भएको हो कि भन्ने कुराले चिन्तित बनाएको बताएका हुन् ।
यस सम्बन्धमा प्रधानमन्त्री संग छलफल समेत गरेको सुनाउँदै उनले प्रधानमन्त्रीले आफुहरु रहदाँ सम्म व्यवस्था खतरामा नपर्ने जवाफ दिएर विश्वस्त पारेको सुनाए ।संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी आफुले कबोल गरेकाले परिवर्तनलाई बचाउन निष्ठापूर्वक लागिपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले जनज्योति क्याम्पसले तनहुँको दक्षिणी ग्रामीण भेगको शैक्षिक विकासमा महत्वपूणर् भूमिका खेलेको चर्चा गरे । रोजगारी र शिक्षाको लागि शहर हुँदै विदेश पस्ने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नु आवश्यक भएको उनले बताए ।
क्याम्पसका अध्यक्षसमेत रहेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जितप्रकाश आलेले २०६४ सालमा महायज्ञ आयोजना गरी स्थानीय शिक्षाप्रेमीहरुबाट सङ्कलित रकमबाट क्याम्पस स्थापना गरिएको स्मरण गरे । साथै, सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिव एक करोडको लागतमा प्रशाशकिय एंव् पुस्तकालय सहितको भवन निर्माण गरिएको आलेले जानकारी दिए ।
प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०४:२१




