पोखरा
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले भ्रमण गरेका छन् । गएको कात्तिक दोस्रो सातादेखि संग्रहालयमा आउने पर्यटकको तथ्याङका राष्ट्रअनुसार राख्न थालिएको हो ।
सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयकी लेखापाल भावना शर्माले जानकारी दिइन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा एक लाख ४५ हजार ३३४ जनाले संग्रहालयको अवलोकन गरेका छन् ।
गएको वर्ष एक लाख ९८ हजार ८२५ जनाले संग्रहालयको अवलोकन गरेको तथ्याङ्क छ ।
नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर एक लाख नौ हजार ९१५ जना संग्रहालय पुग्दा सार्क राष्ट्रका १६ हजार ३१० जना र विदेशी १९ हजार २८ जना आएकोे तथ्याङ्क छ । ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन् ।
विदेशीमा जापनबाट आउने पर्यटकको संख्या धेरै छ । एक हजार ७६४ जापनका पर्यटकले संग्रहालय भ्रमण गरेका हुन् । यस्तै, एक हजार ७६ फ्रान्सेली, ८१६ दक्षिण कोरियाली, ७९३ अमेरिकी, ५६५ बेलायती संग्रहालय पुगेका छन् ।

चालु वर्षको हालसम्म टिकट विक्रीबाट २ करोड १७ लाख २८ हजार १५५ रुपैयाँ संग्रहालयले आम्दानी गरेको लेखापाल शर्माले बताइन् । ‘मासिक २५ लाख रुपैयाँसम्म सञ्चालनमा खर्च हुने गरेको छ’, उनले भनिन् ।
संग्रहालय अवलोकनमा आउने विदेशीसँग ५०० रुपैयाँ शुल्क लिइन्छ । सार्क राष्ट्रका नागरिकलाई २५० रुपैयाँ, नेपालीलाई १०० रुपैयाँ, नेपाली विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । आवासीय भिसा पाएका नागरिकले २५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो । नेपाल पर्वतारोहण संघको मातहातमा संग्रहालय सञ्चालनमा छ ।
संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ । हिमाल बुझ्न चाहने पर्यटकको रोजाई बनेको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने बताउँछिन् ।
‘जो हिमाली क्षेत्रमा जादै हुनुहुन्छ उहाँहरु पनि अध्ययनका लागि आउनुहुन्छ । हिमाली क्षेत्रमा नजाने पर्यटक पनि हिमाली जनजीवनबारे बुझ्नलाई संग्रहालय अवलोकन गर्नुहुन्छ’, उनले भनिन् ।
हिमालबारे अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय थलो बनेको उनको भनाइ छ । संग्रहालयलाई पर्यटकको सुझाव अनुसार अझैै उत्कृष्ट बनाउदै लैजाने कार्यकारी निर्देशक न्यौपानेले बताइन् ।
प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०२:५०




