२०८३ साउन २१ गते बिहीबार

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरि मनाईँदै

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरि मनाईँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १९ गते बुधबार ०८:४९

  पोखरा । आज मे १ तारिख, १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, मजदुर आन्दोलनको सम्झनामा विश्वभर विभिन्न कार्यक्रम गरि श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित...

 

पोखरा ।

आज मे १ तारिख, १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, मजदुर आन्दोलनको सम्झनामा विश्वभर विभिन्न कार्यक्रम गरि श्रमिक दिवस मनाइँदैछ ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ का दिन यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ ।

सन् १८८६ मा श्रम सम्बन्धलाई व्यवस्थित गर्दै श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।

त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।

नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । आज सार्वजनिक बिदा छ ।

दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरी श्रम गर्ने वातावरणसँगै रोजगारी र उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार लागिपरेको बताएका छन् ।

श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

 

प्रकाशित मिति २०८१ वैशाख १९ गते बुधबार ०८:४९
हजुरको प्रतिक्रिया