पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत मागेका छन् ।
प्रदेश सभा भवन नदीपुरमा बसिरहेको विशेष अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेका हुन् ।
बैठक सुरु भएलगत्तै सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन सम्बन्धि पत्र पढेर सुनाएका थिए ।
त्यस लगत्तै मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत मागेका हुन् ।
मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार बैधानिक रुपमा गठन भएको उनले बताए । उनले राप्रपाले पनि विश्वासको मत दिने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री अधिकारीले वक्तव्य प्रस्तुत गर्दै आफुले शान्ति र सुव्यवस्था कायम गर्ने दाबी गरे । ‘भ्रष्टचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषय कानुन बमोजिम तुरुन्त छानविन प्रक्रियामा लगिने साथै भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गर्ने’, अधिकारीले योजना सुनाए ।
सहकारीका बचतकर्ताको रकम सुनिश्चित गर्ने काम प्रदेश सरकारको तर्फबाट हुने उनको भनाइ थियो ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुख) सहित, स्वतन्त्र निर्वातन जितेर नेकपा एकीकृत समाजवादी रोजेका राजिव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्री भएका हुन् ।
एमाले र माओवादीले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन ह्विप नै जारी गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेकोे थिए ।
सर्वोच्चले सभामुखबाहेक ५९ प्रदेश सभा सदस्यको ३० जनाले बहुमत पुग्ने व्याख्यासहित बैशाख १७ गते रिट खारेज गरेपछि अधिकारीलाई विश्वासको मत लिने बाटो लिन लागेका हुन् ।
यसअघि अदालतको आदेश नआउँदै विश्वासको मत लिने तयारी गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रीपरिषद्को सिफारिसमा यसअघि बैशाख ७ गते प्रदेश सभाको विशेष अधिवेशन डाकेका थिए । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे ।
प्रतिपक्षको बेन्च खाली भएपछि ५ मिनेट मात्रै बसेको बैठक सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगीत गरेका थिए ।
प्रकाशित मिति २०८१ वैशाख २३ गते आइतबार ०४:३८




