स्वास्थ्यमन्त्रीको पहिलो निर्णय ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् ।
जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।
स्वास्थ्यमन्त्रीको पहिलो निर्णय ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।
सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।
स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति २०८१ वैशाख ३१ गते सोमबार ०८:०७




