काठमाडौं ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शाीन्त प्रतिष्ठानले आयोजना गरेको गणतन्त्र दिवस संविधान कार्यान्वयनः दलको उदासिनताका वा सरकारको ? विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढंगले पक्राउ गरिएको बताए ।
अदालतलाई दोष दिएर उम्किने ठाउँ नरहेको उनको भनाइ थियो । नेता सिटौलाले सरकार एक्टिभ नभइ अदालतले पक्राउ गर्नु भनेर आदेश नदिने जिकिर गरे ।
अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ रहेको भन्दै हल्का जवाफ नदिन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।
संसद सामान्य कुरालाई लिएर अवरुद्ध भइरहेको उनको भनाइ छ ।
उनले विगतका घटनाक्रमहरु नियालेर उपप्रधान एवं गृहमन्त्रीले आफैँ आरोप पुष्टि गर्नका लागि संसदीय छानबिन समिति बनाउन मार्ग प्रशस्त गर्नुपर्नेमा बनाउनु नै हुँदैन भन्ने अठोट लिएर हिँडिरहनुले पनि आरोप प्रमाणित हुने बताए ।
नेपाली काँग्रेस व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि उनको दाबी छ ।
नेता सिटौलाले संविधानमा उल्लेख गरिएका नागरिक हकहरु कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सबैले समीक्षा गर्न आवश्यक भएकोमा जोड दिए ।
संविधानको कार्यान्वयन जनताको हीतमा कति भयो ? भनेर समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।
साथै उनले राजनीतिक दलहरुले सत्ता टिकाउन मेहनत र गिराउनका लागि मात्रै षड्यन्त्र गरिरहनु नहुनेमा पनि जोड दिए ।
प्रकाशित मिति २०८१ जेठ १४ गते सोमबार ०९:५६




