पोखरा
पोखरालाई ‘स्वच्छ शहरः हरित सहर’ बनाइने भएको छ । हरित सहर बनाउन २ लाख २६ हजार २६१ बिरुवा रोप्ने पोखरा महानगरपालिकाले योजना बनाएको छ ।
पोखराका कुन कुन ठाउँमा वृक्षारोपण गर्न सकिन्छ पहिचान गरेर रणनीति सहितको प्रतिवेदन तयार गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक डा. शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन तयार गरेको हो ।
अध्ययन समितिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । पोखराका ७ सय किलोमिटर राजमार्ग, सडक, ६९ किलोमिटर नदी र खोलाका किनार वृक्षरोपणका लागि पहिचान भएको अध्यक्ष समितिका संयोजक डा. भण्डारीले जानकारी दिए । २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्र समेत वृक्षारोपण गर्न पहिचान गरिएको हो ।
३८ प्रजातिका बिरुवाहरू लगाउने भण्डारीकोे भनाइ छ । सहरी वन विकास तथा हरियाली प्रबद्र्धधनका लागि वर, पिपल, समी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्युँ, गुलमोह लगायतका विरुवा रोपिनेछ । रैथाने, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्यता बढाउने, सदाबहार प्रजाति र धार्मिक महत्वका प्रजातिलाई वृक्षारोपण गर्न अध्ययन प्रतिवेदनले सुझाएको हो ।
महानगर क्षेत्रमा २ लाख २६ हजार २६१ बिरुवा रोपिनेछ । सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४९० विरुवा, सडक, नदी र खोला किनारमा १ लाख ५२ हजार ७७१ विरुबा लगाउन मिल्ने कार्यदलका संयोजक डा.भण्डारीले बताए ।
प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायको अवलम्बन उल्लेख छ ।
सहरी वनको व्यवस्थापन आवश्यक रहेकाले खुला स्थानमा वृक्षारोपण गर्नुपर्ने मेयर आचार्यले बताए ।
‘हरित सहरको निर्माण केवल हरियालीसँग मात्र जोडिदैन । यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धता हो’, उनले भने ।
प्रतिवेदनले पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको काम गर्ने उनको भनाइ छ । कार्यान्वयनका लागि तत्काल काम थाल्ने उनको दाबी छ ।
प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार ०७:००




