पाेखरा ।
विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल राेपिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाएका हुन् ।
उता पोखरा वडा नं.६ र मितेरी आमा समूहको सक्रियतामा पाेखराकै बसुन्धारा पार्कमा समेत २५ वटा साकुरा लगाइएको छ ।
पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताए ।
पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फुल ल्याइएको उनले उल्लेख गरे । फुल्दा असाध्यै सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा लिइको आचार्यकाे भनाइ थियाे ।
प्रमुख आचार्यले साकुरासँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा गरेका छन् । परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उनले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने बताए ।
प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनु पर्ने उल्लेख गरे । साकुरा पोखराका लागि उत्तम रहेको तथा साकुरालाई पार्क बाहिर पनि विस्तार गर्नुपर्ने उनले बताए ।
जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको महानगरले जनाएकाे छ ।
साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ ।
प्रकाशित मिति २०८१ जेठ २३ गते बुधबार ०९:३४
हजुरको प्रतिक्रिया




