२०८३ असोज २५ गते आइतबार

गण्डकीमा मनाङे र फणीन्द्र मन्त्री बन्दै

गण्डकीमा मनाङे र फणीन्द्र मन्त्री बन्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २९ गते मंगलबार १०:४७

मनाङेले गण्डकीमा छैठौं पटक मन्त्री बनेर रेकर्ड बनाउँदैछन् ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । आज २ जना मन्त्री नियुक्त भएर सपथ लिदैछन् ।

सोमबार फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्न लागेका हुन् ।

यी दुई मन्त्रीको सपथ ग्रहणको समयसमेत तय भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार अहिले साढे ११ बजे नेपाल पर्यटन बोर्डको कार्यालय ड्यामसाइडमा सपथ ग्रहण गराइनेछ ।

मनाङेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउँदा देवकोटालाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय दिने तयारी छ । मनाङेले गण्डकीमा छैठौं पटक मन्त्री बनेर रेकर्ड बनाउँदैछन् । मनाङे यसअघि तीन पटक खेलकुद मन्त्री र दुई पटक भौतिक पूर्वाधार मन्त्री भएका थिए ।

सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।

जेठ १६ गते ठूलो दलका नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेपाली कांग्रेसका विन्दुकुमार थापा र डा.टकराज गुरुङलाई मन्त्री बनाएका थिए ।

विन्दुले उर्जा, जलस्रोत, सिंचाइ तथा सामाजिक विकास मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति २०८१ जेठ २९ गते मंगलबार १०:४७
हजुरको प्रतिक्रिया