पोखरा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुनरनसिंह केसीले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै बन्ने बताएका छन् ।
प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद केसीले उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत नपाउँदा पनि २ बमोजिम नै सरकार बन्ने बताएका हुन् ।
उनले सर्वोच्चको व्याख्या र प्रदेशमा भएका प्रयोगका आधारमा पनि उपधारा २ अनुसार नै सरकार बन्ने दाबी गरे । दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको उनको भनाइ छ ।
सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने अठोट व्यक्त गरे । अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने उनको विश्वास छ ।
प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार ०७:२९