पोखरा ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ ।
श्रीलंका डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आज शुरु हुन लागेको हो । यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीबार हुनेछ ।
यसअघि दोस्रो खेल पर्सि बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुने तय भएकोमा नेपाल क्रिकेट संघ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्दैछ ।
यो श्रृंखलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृंखला खेल्नेछ ।
यो श्रृंखलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अंकसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।





