पोखरा ।
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनामा जोड दिनुपर्ने बताएकी हुन् ।
‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर मात्रै होइन निर्यात उन्मुख हुनुपर्छ,’ उनले भनिन्, ‘अब हामी ठूला ठूला कुरा मात्रै होइन, परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’
वुमन चेम्बर अफ कमर्समा संगठित महिलाहरुलाई विविध कार्यक्रमहरुसँग जोड्दै थप सशक्त रुपमा अघि बढाउन मन्त्री श्रेष्ठले सुझाइन् । कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
‘यो संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई थप सशक्तताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै एक क्षेत्रमा मात्रै होइन, अब विविध क्षेत्रमा महिलाहरुको सहभागिता रहनुपर्छ । यसका लागि मेरो पूर्ण रुपमा साथ सहयोग रहन्छ,’ उनले भनिन् ।
सो अवसरमा वुमन चेम्बर अफ कमर्स कास्कीका उत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्री श्रेष्ठले सम्मान समेत गरेकी थिइन् ।
प्रकाशित मिति २०८१ भदौ २७ गते बिहीबार ०६:०३




