२०८३ साउन २१ गते बिहीबार

कथा : अम्ल प्रहार

कथा : अम्ल प्रहार

श्रृजना पाैडेल

@Public 4K Tv

२०७७ माघ ३ गते शनिबार ०९:५२

आज काममा रिदिमाको पहिलो दिन। जसरी पनि आज ऊसलाई ९:१५ मा बिद्यालय पुग्नुपर्ने थियो। आफ्नो घरबाट बिद्यालय अलि टाढा पर्ने भएकाले छिटो छिटो गरि तयार भएर बाटोमा गाडी कुरेर बसिरहेकी थिइ। रिदिमा, मध्यम बर्गिय परिवारकी एक्लि छोरी। परिवारको...

आज काममा रिदिमाको पहिलो दिन। जसरी पनि आज ऊसलाई ९:१५ मा बिद्यालय पुग्नुपर्ने थियो। आफ्नो घरबाट बिद्यालय अलि टाढा पर्ने भएकाले छिटो छिटो गरि तयार भएर बाटोमा गाडी कुरेर बसिरहेकी थिइ।

रिदिमा, मध्यम बर्गिय परिवारकी एक्लि छोरी। परिवारको माया ममताको शितल छहारीमा हुर्किएकी ऊ कुनै दिन रुखा बचन र गाली कस्तो हो सुन्नु परेन। सानैदेखि सरल र सहयोगी स्वभावकी ऊ पढाइमा पनि निकै अब्बल थिई। त्यसैले त कहिल्यै शिक्षकको डण्डाले उसको शरीर छुन सम्म पाएन। पढाइ संगसंगै, अनुशासित र सहयोगी भावना भएकाले गुरुहरु र साथीहरू सबैकी प्रिय थिइ।

समयसंगै बालापनलाई बिदाइ गरेर उमेरले जवानिमा कदम राखिसकेको थियो। सप्रेको बालिझैँ हर्लक्क बढेको शरीर, देख्दै रगत चुहिएला जस्ता राता र पोटिला गाला, धागोले तानेर चट्ट मिलाएका आखिभौ, अनि परेलीमाथि लेखिएको गाजलको कालो धर्कोले काला र चम्किला आँखालाई अझै सुन्दरता थपिदिएको थियोे। अोठमा हल्का गुलाफी रङको लालि लगाएर टम्म मिलेका मोतिझैँ चम्किला दाँत देखाएर जब हाँस्थि नि, अत्यन्तै सुन्दर देखिन्थि। यदि स्वर्गकी अप्सरा कस्ता हुन्छन मैले देखेकी भए उसैसंग दाजिदिन्थेँ र पनि सायद सुन्दर रिदिमा नै देखिन्थि। छोटो, सिल्कि अनि हल्का कैलो  केश फुकै छोड्दा घाँटीसम्म मात्रै झर्थ्यो।

आफ्नै गाँउको बिद्यालयबाट एस.एल. सि पास गरेपछि उच्च शिक्षाको लागि सदरमुकाम पोखरा झरेकी थिइ। बाआमाको सपनालाई आफ्नो आखामा सजाएर सुन्दर भविस्यको खोजीमा निस्केको बाटोमा कहिल्यै नबिसाइ हिडि नै रहि र अन्तिम स्नातक तह पास गरी। बि. एड बिज्ञान पृथ्वीनारायण क्याम्पस पोखराबाट सकेपछि अध्यापन अनुमति पत्र पनि लिई। संगै आफ्नै गाँउको बिद्यालयबाट माध्यमिक तहको बिज्ञान बिषय अध्यापन गर्नका लागि नियुक्त पनि भई।

  ” अझैसम्म पनि गाडी आएन त किन होला?” हातको घडी हेर्दै आँफैसंग प्रश्न गरि। ( नियमत त गाडी  गाउँमा कहाँ पाउनु तर आकलझुकल गाउँतिर गुड्ने जिप वा पिकअप आउँछन् कि भनेर कुरिरहेकी थिइ।)) गाडी त आएन तर परबाट हुइकिदै आएको बाइक रिदिमाकै अगाडि आएर टक्क रोकियो।

बिद्यालयकै पोषाक भए पनि सारिमा निकै सुन्दर र प्यारी देखिएकी थिइ रिदिमा। कुममा साइड ब्याग बोकेर त्यही हातले छाता अोडेर अर्को हातले सारिको आँचल समाएर हम्किदै गर्मि दुर गर्ने प्रयत्नमा थिई उ।

” कतै जान हतार भएजस्तो छ नि मिस ? कता हिड्नुभएको? ” बाइक रोकेर कोही बोल्यो।

” अँ , त्यहीँ परको स्कुलसम्म। “

” ए हजुरलाई त म नयाँ देख्छु त। “

” नयाँ त होइन , यहि माथि हो मेरो घर। अहिले परको मा वि मा बिज्ञान बिषयको अध्यापिकाको लागि नयाँ नियुक्ति भएको। आज पहिलो दिन, छिट्टै बिद्यालय पुग्नुपर्ने तर गाडी कुरेर बसेको कुनै पनि आएन। ” घरिघरि नाडी तिर हेर्दै कुरा गरिरहेकी थिइ।

” अँ यस्तै हो गाउँतिर, भनेको टाइममा गाडी पाइद‌ैन, आउनुस न त म पनि उतै हिडेको बस्नुहोस, म पुर्याइदिन्छु।”

“भैगो छोड्नुस, म हिँडेरै जान्छु। त्यहीँ पर त हो।”

“किन डराउनुभएको? फेरि म पनि उतै हिडेको, किन दुख गर्नुहुन्छ। आउनुस न बस्नुस।”

“बर्षौ संगत गरिरहेको मान्छेलाई त सजिलै विश्वास गर्न नसकिने जमाना छ, त्यसमाथि म त हजुरलाई चिन्दा पनि चिन्दिनँ। यस्तोमा नचिनेको मान्छेसंग म बाइकमा कसरी जान सक्छु??”

” बिश्वास गर्नुस मेरो भनेर त मैले पनि भनेको छैन तर डर पनि मान्नु पर्दैनँ। मेरो घर पनि त्यहि बिद्यालय मुन्तिर हो। अँ काकाले भन्नुभएको त थियोे त्या नयाँ शिक्षिका आउदै छिन भनेर, आज चिनजान पनि हुने भयो, खुसि लाग्यो ।”

“धन्यवाद , तर म आँफै जान सक्छु।”

” अनि नचिनेरै यो दकस हो भने, मेरो नाम आयुस हो। यहि नगरपालिकाको मेयरको भतिज हुँ म। मेरो आफ्नो खाद्यान्न स्टोर्स छ। साथै मासु पसल पनि। आफ्नै घरमा कुखुरा पनि पालेको छु। अनि अहिले त्यहि सामान पुर्याएर आएको। “

यति कुरामै बिश्वास गरेर बाइक चडिहाल्न त रिदिमालाइ मन थिएन । तर घडिको सुइ धेरै अघि पुगिसकेको थियो ।

” त्यसैले के पो होला र ” भन्ने सोचेर उ आयुसको पछाडि बसेर बिद्यालय पुगि ।

पहाडको बाटो यसै त खाल्टाखुल्टि, त्यसमाथि घरिघरि सहज ठाँउमा पनि उसले ब्रेक लगाउँथ्यो । अनि रिदिमा आयुससंगै टासिनँ पुग्थि ।

त्यस दिनदेखि संधैजसो रिदिमा बिद्यालय जाने बेलामा आयुस त्यहि बाटोमा निस्किन्थ्यो । उसको मनसाय रिदिमालाई नै बाइकमा बसाएर बिद्यालय सम्म छोड्ने भए पनि रिदिमासंग भने विभिन्न बहाना बनाउथ्यो र त्यो बाटो हिड्नुपरेको र संयोगबस भेट भएको बताउँथ्यो ।

रिदिमालाई बिद्यालय जान त सहज भएको थियो तर किन किन उसका सबै कुराहरुमा बिश्वास गरिहाल्न मुस्किल परेको थियो । संयोग एक दुई पटक हुन्छ। यहाँ  त लगातार पन्ध्रौं दिनसम्म संयोग परेको थियो । आयुसका अनुसार अझ कहिलेकाही  त रिदिमा फर्किने बेला पनि रिदिमाकै घरतिर जाने पनि संयोग पर्दथ्यो ।

रिदिमालाई आयुसको मनसायप्रति शंका उब्जन थाल्यो । एकदिन रिदिमा ऊसंग नजाने निर्णय गरेर अरु दिन भन्दा अलि छिटो घरबाट निस्कि र एक्लै हिँडेर बिद्यालय पुगि।

” रिदिमा मिस, आज त एक्लै आउनु भयो त, आयुस आएन ?” उसंगै अध्यापन गर्ने स्वस्तिमा मिसले सोध्नुभयो।

” मलाई आयुससंग हिड्न अलि असहज लाग्यो। हुन त त्यस्तो केही गर्नुभएको भन्नुभएको छैन। तर दिन दिनै लगातारको संयोग संग डर लाग्न थाल्यो । “

” दिन दिनै लगातारको संयोग मतलब? बुझिनँ नि मिस।”

आयुष संगका कुराहरु मोटामोटी रिदिमाले स्वस्तिमा मिसलाई बताई।

यत्तिकैमा स्वस्तिमा मिसले भनिन्: ” हुन त मेयरको भतिज हो उ, अनि उति खराब त छैन । तैपनि यस्तो हो भने सकेसम्म उसंग बचेर हिड्नुहोला। पछि पछुताउन भन्दा अघि नै सजग हुन राम्रो । मैले त यति मात्रै भन्छु।”

“हुन्छ, म मनन गर्छु हजुरको कुरा। अहिलेलाई कक्षामा जान ढिला भयो । जाउँ है।”

” रिदिमा मिस, बस्नुहोस म पुराइदिन्छु” टक्क अगाडि बाइक रोकेर आयुस बोलेपछी हिडिरहेका रिदिमाका पाइला पनि रोकिन बाध्य भए।

” हैन ठिकै छ, म आफै जान्छु। हजुर कति दुःख गर्नुहुन्छ?”

“यसमा केको दु:ख ? म पनि उतै जाने काम छ।  संगै जाउँ जादा के को दुःख। बरु हजुरलाई दुःख भए जस्तो छ नि? बिहान पनि बाटोमा भेटिनँ। एक्लै आउनुभएछ।”

” आज संयोग परेन होला नि आयुस सर, अनि संयोग पनि संधै कहाँ पर्छ र?”

” अँ हो , तर अहिले त संयोग पर्यो नि त। जाउँ न संगै। “

“माफ गर्नुहोला सर, मलाई त यो संयोगमाथि नै शंका लागिरहेको छ।”

“शंका मतलब ? कस्तो शंका?”

” केही होइन, मात्रै दिनदिनैको संयोग अलि कस्तो कस्तो लागेको ।माफ गर्नुहोला तर इमानदारीपूर्वक भन्नुपर्दा मलाई यो संयोग कत्ति पनि मन परेको छैन । मान्नुहुन्छभने अबदेखि मलाई हजुरको सहयोग चाहिदैन। “

यति भनेर रिदिमा त्यहाँबाट सरासर हिडि। संगसंगै पच्छायो आयुषले पनि। रिदिमाको अगाडि  पुगेर बाइक रोक्यो र बाइकबाट झरेर रिदिमाको नजिक पुग्यो र भन्यो । ” रिदिमा तिमीलाई म पहिलो दिन देखे देखि नै मन पराउन थालेको थिएँ। त्यसैले संयोग भन्दै हरेक पटक तिम्रो नजिक हुन पुगेँ । माफ गरिदेउ यसको लागि । तर म तिमीलाई साँचो माया गर्छु। कृपया मेरो मायालाई स्विकार गर रिदिमा। तिमीलाई कहिल्यै दुःख हुन दिने छैनँ।”

“हो मलाई यहि शंका लागेर म टाढा हुन खोजेकी हुँ। दुः ख नमान्नुहोस तर मेरो मनमा हजुरको लागि केही पनि त्यस्तो भावना छैन ।” यति भनेर रिदिमा सरासर आफ्नो बाटो लागि ।

रिदिमाको हात च्याप्प समातेर आयुसले केही भन्न खोज्दै थियो तर रिदिमा फरक्क पछि फर्कि र एउटा हात झड्कारेर आयुसको हातबाट छुटाउँदै अर्को हात नराम्रोसंग आयुसको गाला बजार्दै भनी ” तपाईंको अनुशासन यहि हो ? एउटी एक्लै हिडिरहेकी केटी हात समातेर बोल्नलाई ? हुन्न भने पछि हुन्न। मेरा पनि भावना हुन्छन, मेरो जीवनमा मात्र मेरो हक लाग्छ। दुई दिन बाइकको पछि बसाउँदैमा लाग्छ तपाईलाई कि म पनि माया गर्छु र गर्नु पर्छ भन्ने ? यदि यस्तो हो भने तपाईं भ्रममा हुनुहुन्छ । निस्कनुहोस यो भ्रमबाट र छोडिदिनुस मेरो पछि लाग्न।”

यति भनेर रिदिमा सरासर आफ्नो बाटो लागि।

आयुसले आफ्नो हातले गाला समाउँदै भनिरहेको थियो: ” ठुलो पछुतो हुनेछ रिदिमा तिमीलाई, मेरो माया लत्याएको र यो झापड हानेकोमा। ” तर रिदिमाले उसको मतलब नै नगरि आफ्नो बाटो तताई। हुन त रिदिमालाई उसको धम्की सुनेर मनमा कुराहरु खेल्न थालिसकेका थिए।

उसको पहिलो कमाई हातमा परेको थियो। खुसि हुँदै बाबाआमाका लागि नया लुगा किनिदिने र चुहिने भइसकेको घरको छानो यहि पैसाले फेर्ने रंगिन सपना बुन्दै बिद्यालयबाट फर्किदै थिइ। तर एकैछिन उसको जिन्दगी नै बेरङ्ग बन्यो। आयुस त्यो दिन फेरि रिदिमाको अगाडि आयो र उसैगरि बाइक रोक्यो जुन दिन रिदिमालाइ प्रेम प्रश्ताव राखेको थियो ।

जुन ठाउँमा रिदिमाले आयुसलाइ म तिम्रो कहिल्यै हुन सक्दिन भनेर प्रश्ताव अस्विकार गरेकी थिइ। त्यहि ठाउँ र त्यहि समयमा जिन्दगीभर कसैको हुन नसक्ने बनाइदियो। रिदिमासंग अम्लको होलि खेल्यो तर आफुमा एक छिटा पनि नपारी उसको जीवनको रङ नै खोसेर लग्यो। रिदिमा चोट सहन नसकेर छट्पटाइरहेकी थिई तर आफुले माया गर्छु भन्ने मान्छेलाई जीवनभर निको नहुने चोट दिएर त्यहि बाटोमा छोडेर फरार भयो ।

“नाइ, नाइ , नाsssई …. “

” रिदु के भयो? यो रातिमा किन चिच्याएकी? नराम्रो सपना देख्यौ हो?” रिदिमाको चिच्याहट सुनेर बाआमा अतालिदै रिदिमाको कोठामा आउनुभयो ।

रिदिमाले शरिरबाट चिटचिट पसिना निकालेर दुइटा हात पुर्पुरोमा थिचेर थर्थर कामिरहेकी थिई।

#SirjanaPaudel

प्रकाशित मिति २०७७ माघ ३ गते शनिबार ०९:५२
हजुरको प्रतिक्रिया