पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीलाई निर्देशन दिएका छन ।
पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । यात्रुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए । अहिले पोखरा–काठमाण्डौँ भाडा पाँच हजार नौ सय सम्म छ ।
यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए । आईतवार काठमाण्डौँबाट पोखराकालागि उडेको जहाज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाण्डौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एअरलाईन्सलाई सचेत गराएका थिए ।
विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाईट घटाएर टिकट नबढाउन निर्देशन दिए । विपद्को समयमा सेवा दिँदै आएका कम्पनीलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतकालागि पनि ध्यान दिईनुपर्ने बताए ।एरलाईन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यस बारे केन्द्रिय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एरलाईन्सले सेवा दिँदै आएका छन् ।
प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०७:४७




